नयाँ सदस्यको स्वागतका लागि चिटिक्क पारिदैँछ प्रदेश सभा

नयाँ सदस्यको स्वागतका लागि चिटिक्क पारिदैँछ प्रदेश सभा

धनगढी । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा २०७९ को निर्वाचनबाट प्रदेश सभा सदस्यहरुहरुको नतिजा आउने क्रम जारी रहेको छ । हालसम्म सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक सबै जिल्लाबाट प्रदेश सभाको नतिजा सार्वजनिक भईसकेको छ ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये बाजुराका दुई स्थान बाहेक प्रत्यक्षतर्फका ३२ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसका ११, माओवादीका ८, नागरिक उन्मुक्ति पार्टीका ५, एकीकृत समाजवादीका २, एमालेका ३ स्वतन्त्र उम्मेदवारका १ निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा यस प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी गरि चार दल निर्वाचित भएका थिए । तर, २०७८ सालमा पार्टी विभाजन पछि यस प्रदेशमा छ दल बनेको थियो । 
 

स्वागत गर्ने तयारीमा प्रदेश सभा

निर्वाचनको अन्तिम मतपरिणाम पुग्दै गर्दा सुदूरपश्चिम प्रदेश सभा सचिवालयका कर्मचारी नवनिर्वाचित प्रदेश सभा सदस्यको स्वागतको तयारीमा जुटेको छ ।

यस प्रदेशमा छ दल बनेपछि संसदीय दलका कार्यालयको व्यवस्थापन, प्रदेश सभा बैठक हलको व्यवस्थापन, सभा सञ्चालनका लागि आवश्यक पर्ने विजनेश लगायतको तयारीमा प्रदेश सभा जुटिरहेको छ ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा सदस्यको स्वागतका लागि सचिवालय तीव्र रुपमा तयारीमा जुटेको बताए । उनले कार्यालय व्यवस्थापन, रंगरोगन, कुर्ची व्यवस्थापन लगायतका काम भईरहेको बताए । उनले भने –‘बैठक सञ्चालनको तयारी गर्न कुनै समस्या छैन । तर, दलको कार्यालयको व्यवस्थापनमा केही जटिलता देखिएको छ ।’

२०७४ सालमा जिल्ला समन्वय समिति कैलालीको भवनमा प्रदेश सभा सचिवालयको कार्यालय बनाइएको थियो । जिल्ला समन्वय समितिले व्यापारिक परियोजनाका लागि बनाएको भवनमा संसदिय दल र विषयगत समितिको कार्यालय व्यवस्थापन गरिएको थियो । अहिले धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्ने क्रममा सो भवनको केही भाग हटाउनुपरेपछि सचिवालयलाई व्यवस्थापन गर्न चुनौती देखिएको छ । 

सचिव बोगटीले भने –‘संसदीय दलको कार्यालयको व्यवस्थापनका लागि सचिवालय लागि रहेको छ । दलको कार्यालय रहेको भवनको केही भाग हटाउँदा हामी अहिले मर्मत सम्भारमा जुटेका छौं ।’ उनले दलको कार्यालय राख्न कुनै समस्या नरहने बताए । उनले भने –‘मर्मत गर्न बजेट छैन । अहिले जिल्ला समन्वय समिति र सचिवालयको सहकार्यमा मर्मत भईरहेको छ । बजेटका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र आर्थिक मामिला मन्त्रालयमा पत्र पठाएका छौं ।’

उनले सभा सञ्चालन हुनु अगावै सम्पूर्ण कार्यालयको व्यवस्थापन गरि सक्ने बताए ।