बदर मत घटाउँन खर्च बढी, उपलब्धि शुन्य

बदर मत घटाउँन खर्च बढी, उपलब्धि शुन्य

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बदर मत धेरै भएको भन्दै आलोचना खेपेको निर्वाचन कार्यालय धनगढीले यसपटक बजेट र कार्यक्रम बढाए पनि सोचेअनुसार बदर मतको संख्या भने घटाउन सकेन् । 

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ कैलालीमा १८ हजारभन्दा बढी मत बदर भएको छ ।

प्रतिनिधि तथा प्रदेशसभामा जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा १८ हजार ६१५ मत बदर भएको छ । प्रतिनिधिमा ४.८४ र प्रदेशमा ५.१८ प्रतिशत मत बदर भएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । दुबैतर्फ गरेर जम्मा ५.८७ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । 
यतिसम्म कि मतादाताहरुले एउटै मतमा चारवटासम्म छाप लगाइएको पाइएको छ । 

मतदाता शिक्षाका क्रममा चार वटा मतपत्रमा मतदान गर्नुपर्छ भन्ने कुरालाई मतदाताले एउटै पत्रमा चार पटकसम्म मत दिनुपर्छ भनेर पनि बुझेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताउँछन् । 

छुट्टा छुट्टै पत्रमा एक ठाउँमा मात्रै मतदान गर्ने भनिए पनि मतदाताले नबुझ्दा कसैले दुई पटक त कसैले चार पटकसम्म एउटै मतपत्रमा छाप लगाएको समेत देखिएको उनले बताए ।  

‘१३ वटै स्थानीय तहका १२६ वडामा नमुना मतदान गराएका थियौं,’ उनले भने, ‘सामाजिक सञ्जाल मार्फत पनि जानकारी गराएका थियौं । रेडियो एफ.एम तथा टेलिभजनबाट पनि प्रचार–प्रसार गरिएको हो । तरपनि आशा अनुरुप बदर मत घटेको पाइएन ।’ 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार २८६ मत बदर भएको छ ।
 
त्यस्तै निर्वाचन क्षेत्र २ मा ३ हजार ६६४, क्षेत्र ३ मा ४ हजार २१, क्षेत्र ४ मा ३ हजार ७९७ र निर्वाचन क्षेत्र ५ मा ३ हजार ८४७ मत बदर भएको छ । 

२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जम्मा पाँच लाख २५ हजार १२५ मतदाता रहेकोमा तीन लाख ५१ हजार ४३२ जनाले मतदान गरेका थिए । 

स्थानीय तहमा पूर्ण बदर मतको संख्या ५ हजार ४८० अर्थात ५.१३ प्रतिशत मत बदर भएको थियो । स्थानीय तहको भन्दा संख्यात्मतक रुपमा बदर मतको घटेको देखिएपनि प्रतिशतको हिसावमा यस पटक पनि बदर मत घट्न सकेन ।  

प्रतिनिधि तथा प्रदेशसभा तर्फ कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकोमा तीन लाख १९ हजार २२ मत मात्रै खसेको थियो । जसको ५९ प्रतिशत हुन आउँछ । प्रतिनिधी सभा तथा प्रदेश सभाका क्षेत्रहरुमा पनि कुल मतको आधा प्रतिशत मात्रै मत खसेको छ । 

जिल्ला निर्वाचन कार्यालय धनगढीले कैलालीका १३ वटै पालिकाका १२६ वडामा गएर मतदाता शिक्षा दिएको जनाएको छ । मतदाता शिक्षा सबै वडामा दिएको भएपनि अझै पनि मतदाता शिक्षामा चाहे अनुसार प्रतिफल भने नआएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए । 

‘स्थानीय तहको भन्दा यस पटक धेरै नै प्रचार–प्रसार गरेका थियौं,’ उनले भने, ‘सबै वडामा नमुना मतदान गराएका थियौं तर पनि सोचे अनुसार बदर मतको संख्या घटाउन सकिएन ।’

यसमा राजनीतिक दलहरुले पनि मतदाता शिक्षा कसरी दिए भन्ने विषयले पनि भूमिका खेल्ने भन्दै उनी पन्छिए । दलहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नेक्रममा मतदातालाई स्पष्ट पार्न नसक्दा बदर मतको संख्या बढेको देखिएको उनको भनाइ छ । 

के भन्छन् दलहरु ? 
कैलालीमा निर्वाचन आयोगसंगै दलहरुले पनि मतदातालाई आफ्नो तरिकाले मतदाता शिक्षा प्रदान गरेका थिए । तर उनीहरुले पनि प्रयास गरे अनुसारको नतिजा नआएको बताएका छन् । नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव नृपबहादुर सुनारले मतदातालाई शिक्षा दिइएको भएपनि गठबन्धनका कारण मतदाता दोधारमा परेको हुनसक्ने बताए । 

‘हामीले जुन शिक्षा जसरी दियौं त्यसरी मतदाताले शिक्षा लिन सकेनन् कि भन्ने लागेको छ,’ उलने भने, ‘कुन दललाई कसरी भोट गर्दा सदर हुन्छ भन्नेमै नागरिकहरु स्पष्ट हुन सकेनन ।’

मतदातामा सबैभन्दा बढी गठबन्धन दलको चुनाव चिन्हमा मत हाल्दा अन्यौलता देखिएको सचिव सुनारले बताए । ‘एक पटक रुखमा भोट हाल्नु फेरि हँसिया हतौडामा हाल्नु भनेर सिकाइयो,’ उनले भने । गठबन्धनलगायतका दलहरुले आफ्नो फाइदाको लागि मात्रै भन्दा पनि मतदातालाई सिकाउन खोजेको कुरा बुझाउन नसक्दा बदर मतको संख्या घट्न नसकेको उनको स्वीकारोक्ति छ । 

उनका अनुसार कांग्रेस कैलालीले मतदाता शिक्षामा मात्रै १० लाख रुपैयाँ खर्च गरेको छ । आगामी दिनमा दलहरुले यस पटक भएको कमी कमजोरीलाई पहिचान गर्दै सुधार गर्नुपर्ने उनको भनाइ छ ।

नेकपा एमाले कैलालीका उपसचिव लोकेन्द्र शाहीले विभिन्न ठाउँमा मतदान गर्दा पनि मतदाता शिक्षा प्रभावकारी बनाउन नसकिएको बताउँछन् । आगामी दिनमा यसलाई प्रभावकारी बनाउन निर्वाचन कार्यालयले मात्रै नभएर दलहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । 

‘दलहरुले आफ्नो चुनाव चिन्हमा भन्दा पनि कसरी मतदान गर्दा सदर हुन्छ त्यसलाई स्पष्ट पार्नुपर्छ,’ उनले भने, ‘कतिपयले चुनाव चिन्हमै मात्रै केन्द्रित भएर भन्दा बदर मतको संख्या बढेको देखिन्छ ।,’ निर्वाचन आयोगलाई मात्रै दोष लगाउन नमिल्ने उनको भनाइ छ ।

आगामी दिनमा दलहरुले पनि मतदातालाई स्पष्ट पार्न आफ्ना तर्फबाट काम गर्नुपर्ने र बिगतमा भएका गल्तीलाई स्वीकार गर्दै सुधारको बाटोमा जानुपर्ने उपसचिव शाहीले बताए । 

घट्यो मतदान गर्नेको संख्या ?
पछिल्लो समय विभिन्न कारणले मतदान गर्नेको संख्या पनि घट्दै गएको छ । यस पटक प्रतिनिधि र प्रदेश तर्फपनि मतदान गर्नेको संख्या घटेको छ । कैलालीमा जम्मा पाँच लाख २५ हजार १२५ मतदाता रहेकोमा तीन लाख ५१ हजार ४३२ जनाले मतदान गरेका थिए । 

कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये प्रतिनिधि तथा प्रदेश सभामा सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा खसेको छ । यस्तै सबै भन्दा कम मत क्षेत्र नम्बर ४ मा खसेको हो । क्षेत्र नम्बर ५ पछि सबै भन्दा बढी क्षेत्र नम्बर १ मा खसेको छ ।

यस्तै क्षेत्र नम्बर १ पछि अन्य क्षेत्र नम्बर ३ मा खसेको छ भने क्षेत्र नम्बर ३ पछि कम मत क्षेत्र नम्बर २ मा खसेको प्रदेश निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ । निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभामा एक लाख पाँच हजार सात सय ९३ मतदाता रहेकोमा ६५ हजार पाँच सय ९६ मत मात्रै खसेको छ । जसको ६२ प्रतिशत मात्रै मत खसेको हो । क्षेत्र नम्बर ४ मा भने सबै भन्दा कम मत खसेको छ ।

क्षेत्र नम्बर ४ मा एक लाख १० हजार चार सय ५३ मतदाता रहेकोमा ६३ हजार चार सय ४३ मत मात्रै खसेको हो । जसको ५७ प्रतिशत हुन आउँछ । क्षेत्र नम्बर ५ पछि कम मत क्षेत्र नम्बर १ रहेको छ । क्षेत्र नम्बर १ मा एक लाख ६ हजार सात सय तीन मतदाता रहेकोमा ६३ हजार सात सय ७८ मत खसेको छ । जसको ६० प्रतिशत हुन्छ ।

क्षेत्र नम्बर १ पछि कम मत क्षेत्र नम्बर ३ रहेको छ । क्षेत्र नम्बर ३ मा एक लाख सात हजार ६ सय ५९ मतदाता रहेकोमा ६३ हजार चार सय ७५ मत खसेको हो । जसको ५९ प्रतिशत हुन आउछ । क्षेत्र नम्बर ३ पछि क्षेत्र नम्बर २ मा कम मत खसेको छ । क्षेत्र नम्बर २ मा एक लाख चार हजार नौ सय ६ मतदाता रहेकोमा ६० हजार सात सय ३० मत मात्रै खसेको छ । जसको ५८ प्रतिशत मात्रै मत खसेको हो ।

यस्तै कैलालीका प्रतिनिधि सभाको तुलनामा प्रदेशका क्षेत्र गत रुपमा हेर्ने हो भने १ (क) र २ (ख) मा पनि कम मत खसेको छ । प्रदेशका क्षेत्र गतको मतदातामा १ को दुई लाख ७५ हजार सात सय २० मतदाता रहेकोमा १ लाख ६९ हजार ५ सय ७१ मत खसेको छ । जसको ६१.५ प्रतिशत हुन आउछ ।

यस्तै क्षेत्र २ मा दुई लाख ५९ हजार सात सय ९४ मतदाता रहेकोमा एक लाख ४७ हजार चार सय ५१ मत खसेको छ । जसको ५६.७ प्रतिशत मत खसेको छ ।

क्षेत्र गत हेर्दा सबै भन्दा बढी क्षेत्र नम्बर ५ को प्रदेशका क्षेत्रमा खसेको छ भने सबै भन्दा कम क्षेत्र नम्बर २ मा खसेको हो । क्षेत्र नम्बर ५ को प्रदेशको क्षेत्र १ (क) मा ५७ हजार नौ सय ५५ मतदाता रहेकोमा ३७ हजार दुई सय २९ मत मात्रै खसेको छ । जसको ६४.२ प्रतिशत हुन्छ ।

प्रदेश क्षेत्र नम्बर २ (ख) को ४७ हजार आठ सय ३८ मतदाता रहेकोमा २८ हजार तीन सय ६७ मत मात्रै खसेको छ । जसको ५९.२ प्रतिशत हुन्छ । सबै भन्दा कम मत क्षेत्र नम्बर २ मा खसेको छ ।

क्षेत्र नम्बर २ को प्रदेशको क्षेत्र १ (क) मा ५६ हजार तीन सय ४२ मतदाता रहेकोमा ३१ हजार नौ सय ६६ मत खसेको छ । जसको ५६.७ प्रतिशत हुन्छ । क्षेत्र २ (ख) मा ४८ हजार पाँच सय ६४ मतदाता रहेकोमा २८ हजार सात सय ६४ मत खसेको छ । जसको ५९.२ प्रतिशत हुन्छ ।

क्षेत्र नम्बर ५ पछि सबै भन्दा बढी मत खसेको क्षेत्र ३ मा छ । क्षेत्र नम्बर ३ को प्रदेशको क्षेत्र १ (क) मा ५४ हजार दुई सय आठ मतदाता रहेकोमा ३३ हजार तीन सय २२ मत खसेको छ । जसको ६१.४ प्रतिशत हुन्छ ।

प्रदेश क्षेत्र नम्बर २ (ख) को ५३ हजार चार सय ५१ मतदाता रहेकोमा ३० हजार एक सय ५३ मत खसेको थियो । जसको ५६.४ प्रतिशत हुन्छ । क्षेत्र नम्बर ३ पछि क्षेत्र नम्बर ४ मा खसेको छ ।

क्षेत्र नम्बर ४ को प्रदेशको क्षेत्र १ (क) मा ५४ हजार ६ सय ३४ मतदाता रहेकोमा ३२ हजार ४ सय ८४ मत खसेको छ । जसको ५९.४ प्रतिशत हुन्छ । क्षेत्र २(ख) मा ५५ हजार आठ सय १९ मतदाता रहेकोमा ३० हजार नौ सय ५९ मत खसेको छ । जसको ५५.४ प्रतिशत हुन्छ ।

क्षेत्र नम्बर ४ पछि क्षेत्र नम्बर १ मा खसेको छ । क्षेत्र नम्बर १ को प्रदेशको क्षेत्र १ (क) मा ५२ हजार ५ सय ८१ मतदाता रहेकोमा ३४ हजार ५ सय ७० मत खसेको छ । जसको ६५.७ प्रतिशत हुन्छ । क्षेत्र २ (ख) मा ५४ हजार एक सय २२ मतदाता रहेकोमा २९ हजार दुई सय आठ मत खसेको छ । जसको ५३.९ प्रतिशत हुन्छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी राजेश चौधरीले मतदाताहरु मतदानमा सहभागिता नहुँदा नै कम मत खसेको हुनसक्ने बताए ।