सुदूरपश्चिमका जनताले नपत्याएका सात 'हेभिवेट'

सुदूरपश्चिमका जनताले नपत्याएका सात 'हेभिवेट'

धनगढी । माओवादी त्यागेर एमालेको सचिव भनेका लेखराज भट्ट केन्द्रमा सुदूरपश्चिमबाट राम्रै पहुँच राख्ने नेता हुन् । नेकपा एमालेको सुदूरपश्चिम इञ्चार्ज रहेका भट्टको यस पटक एमालेको सांसद बन्ने सपना पूरा हुन सकेन । 
६३ वर्षीय लेखराज भट्ट व्यवस्थापिकामा पुग्ने चौथो चुनावी दौडमा थिए । कैलाली निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्दै आएका उनी यसअघि २०६४ को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भएका थिए । 

यस पटक पनि कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट भट्ट पराजित भए । निर्वाचन घोषणा र उम्मेदवार टुङ्गो लागेपश्चात् डोटीबाट कैलाली झरेका काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरसँग उनी पराजित भए ।

बलायर २६ हजार २ सय ७५ मत सहित विजयी हुँदा भट्ट २२ हजार ६ सय ६३ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी बने । 

यस्तै, २०४८ सालदेखि संसदीय चुनाव लड्दै पाँच पटक सांसद भइसकेका रामजनम चौधरी पनि हारे । २०१७ सालमा जन्मिएका चौधरी २०३६ सालयता नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । 

२०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी काङ्ग्रेसबाटै विजयी भएका थिए । २०६४ र २०७० सालको दुवै संविधानसभा निर्वाचनमा उनी मधेसी जनअधिकार फोरमबाट विजय भएका थिए । यस क्रममा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का गौरीशङ्कर चौधरीले राम जनमको अविराम विजय यात्रा अवरुद्ध पारिदिएका थिए । 

सातौँ पटक कैलाली–१ बाट सत्ता गठबन्धनका दलहरूको दरिलो साथ सहित काङ्ग्रेसबाट चुनावी मैदानमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी नौ महिना अघि मात्रै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पराजित भए । 

विजयी नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले ३० हजार ४ सय ४ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार राम जनम चौधरी १८ हजार ८१ मतमै रोकिए । 

त्यस्तै, कैलाली २ बाट नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावलले पनि चुनाव हारे । उनलाई जिताउन एमाले अध्यक्ष केपी शर्मा आलीले उनकै क्षेत्रमा पुगेर निकै तारिफ गरे पनि त्यसले केही असर गरेन । उनी पनि नागरिक उन्मुक्ति पार्टीका अरुन कुमार चौधरीसँग पराजित भए । 

विजयी चौधरीले २१ हजार ८ सय ७१ मत पाउँदा रावलले १६ हजार १ सय २८ मत मात्रै प्राप्त गरे । 

यस्तै, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पराजित गरेका नेकपा एमालेका पोलिट ब्युरो सदस्य नारदमुनि राना कैलाली–५ बाट पुन सांसद दोहोरिन चाहे पनि उनलाई मतदाताले पत्याएनन् । 

२०५४ सालमा धनगढी नगरपालिकाको उपमेयर जित्दा होस् वा २०७४ को प्रतिनिधिसभाको चुनाव जित्दा रानाले काँग्रेसको गढ भत्काएकाले पनि उनलाई बलियो उम्मेदवारका रूपमा लिइएको थियो । तर सत्ता गठबन्धनका पाँच दल सँग लड्न उनी पनि भारी हुन सकेनन् । 

उनको संसद् यात्रा रोकेर विजय हासिल गरेका नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका साँझा उम्मेदवार डिल्लीराज पन्तले २१ हजार ३ सय ९२ मत प्राप्त गरे भने एमाले उम्मेदवार नारदमुनि रानाले २० हजार ३ सय १८ मत प्राप्त गर्दै दोस्रो स्थानमा चित्त बुझाए । 

त्यस्तै, ३८ वर्षीय विना मगर पनि सङ्घीय संसद् जान अस्वीकृत नेताहरूकै लिष्टमा समेटिइन् । माओवादी केन्द्रमा राम्रो प्रभाव भएकी र अध्यक्ष प्रचण्ड बुहारी समेत रहेकी मगरलाई सत्ता गठबन्धनको साथले पनि जिताउन सकेन । 

निवर्तमान प्रदेशसभा सदस्य तारा लामा तामाङको उनलाई पराजित गरे । लामाले २४ हजार ८ सय ९२ मत ल्याउँदा मगरले १९ हजार ३ सय ४६ मत प्राप्त गरिन् ।

यस्तै, एमाले नेत्री एमाले अध्यक्ष ओलीकी प्रिय पात्र ५१ वर्षीय निरुदेवी पालले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट पराजय भोगिन् । उनी नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार रमेश लेखकसँग पराजित भइन् । 

लेखकले ३० हजार ५ सय ७५ मत प्राप्त गर्दा पालले १८ हजार ४ सय ८५ मत पाइन् । 

यस्तै, बाजुरामा एमालेका कर्ण थापा काँग्रेसका बद्री प्रसाद पाण्डेसँग पराजित भए  । पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गर्दा थापाले २६ हजार ३ सय ४९ मतमै चित्त बुझाउनुपर्‍यो ।