सुदूरपश्चिम महोत्सवको तयारी पूरा, के के हुँदै छ?

सुदूरपश्चिम महोत्सवको तयारी पूरा, के के हुँदै छ?

धनगढी । सुदूरपश्चिम प्रदेश महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी अन्तिम चरणमा रहेको आयोजक संस्थाले जनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा आयोजना हुन लागेको महोत्सवको यो १६ औँ संस्करण हो ।

‘हामी अहिले पनि महोत्सव स्थलमा छौँ । तयारी अन्तिम चरणमा रहेको छ । उद्घाटन सत्रसम्म सम्पूर्ण तयारी भइसक्ने छ’ कैलाली उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले भने ‘९५ प्रतिशतभन्दा बढी तयारी पूरा भइसकेको छ ।’
महोत्सव समुदघाटन अघि धनगढी ट्राफिक चौराहदेखि महोत्सव स्थलसम्म झाँकीसहित प्रभात र्याली निकालिने उनले बताए । 

महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले समुदघाटन गर्ने कार्यतालिका रहेको छ । महोत्सवको समुदघाटन २ बजे हुने अध्यक्ष कुँवरले बताए ।

बिहिबारबाट शुरु हुन लागेको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा कृषि, घरेलु उत्पादन, कला, संस्कृति लगायतका प्रदर्शनीहरु पनि राखिएको छ । यस वर्ष चार सय स्टल रहने छ । 

दुई करोडको लगानीमा महोत्सव लागिरहेको र यो महोत्सवबाट व्यवसायीले ५ देखि ७ करोडको कारोबार गर्ने अध्यक्ष कुँवरले बताए । उनले पाँच लाख दर्शकले महोत्सवमा अवलोकन गर्ने अनुमान रहेको बताए ।

प्रधानमन्त्रीलाई १५ किलो माला लगाईने :

सुदूरपश्चिम प्रदेश महोत्सवको समुदघाटनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ बुँदे मागसहित १५ किलो माला लगाउने तयारी आयोजकले गरिरहेको छ ।

महोत्सव शुरुवातदेखि विभिन्न माग राख्दै प्रमुख अतिथिलाई माग बरारबरका बुँदा अनुसारको माला लगाईने गरिएको छ । २१ बुँदे मागबाट शुरु भएको महोत्सवमा यस वर्ष प्रमुख अतिथिलाई १५ किलोको माला लगाईने महासचिव ओम विष्टले बताए । 

उनले २१ बुँदाबाट केही माग पुरा भईसकेको र अपुरो बुँदा अनुसार प्रधानमन्त्रीलाई माला लगाईने बताए । प्रदेशको गौरिफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, गौरिफण्टादेखि मानसरोवर जोड्ने सडक, प्रर्दशनीस्थलको व्यवस्था, आईटी हब लगायतका १५ देखि १७ बुँदे माग हुन सक्ने बताए । उनले अहिले बुँदाहरु तयार गरिरहेको बताए ।

विपद कोषमा टीकटको पाँच रुपैयाँ :

सुदूरपश्चिम महोत्सवबाट विक्री हुने प्रति टिकटको पाँच रुपैयाँ जिल्ला विपद कोषमा जम्ममा गरिने छ । सुदूरपश्चिम महोत्सवलाई ‘एक रुपैयाँ अभियान’ले पनि चिनाउने गरेको छ । २०६३ सालमा महोत्सव शुरुवात गर्दा धनगढी विमानस्थल स्तरोन्नतिका लागि एक रुपैयाँ अभियान शुरु गरिएको थियो । महोत्सवको १६ औँ संस्करणमा पुग्दा पाँच रुपैयाँ बनाइएको छ । 

महोत्सवमा विक्री हुने प्रति टिकटबाट संकलन भएको पाँच रुपैयाँ विपद कोषमा जम्मा गरिने अध्यक्ष कुँवरले बताए । कैलाली बाढी, डुवान तथा पहिरोसंगै आगजनी, भुकम्प लगायतको जोखिम क्षेत्रमा रहेको छ । सो कारण प्रति टिकट पाँच रुपैयाँ कोषमा जम्मा गरिने उनले बताए । 

महोत्सवमा ७० देखि ८० लाख बराबरको टीकट विक्री हुने अनुमान गरिएको छ । यस वर्ष महोत्सवमा सर्वसाधारणका लागि एक सय र विद्यार्थीलाई परिचयपत्रबाफत ५० प्रतिशत छुट दिइने छ ।