एमालेबाट को–को बन्न सक्छन् समानुपातिक सांसद्?

एमालेबाट को–को बन्न सक्छन् समानुपातिक सांसद्?

काठमाडौं । नेकपा एमालेले सबै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो लगाउन आज सचिवालय बैठक बोलाएको छ ।

समानुपातिकतर्फ पाएको मतका आधारमा प्रतितिनिसभामा एमालेका ३४ सांसद निर्वाचित हुने छन्। त्यसैगरी मधेस प्रदेशबाहेक चार प्रदेशमा एमाले पहिलो भएको छ भने अरु दुई प्रदेशमा कांग्रेससँग बराबरी सिट ल्याएको छ।

प्रत्यक्षमा ४४ गरी ७८ सिट जितेको छ। राष्ट्रिय सभा अध्यक्ष समेत जोड्दा एमालेका १६ जना (एमालेबाट निर्वाचित अध्यक्ष गणेश तिमिल्सिना सहित) छन्। संघीय संसद्‌मा रहने ९४ जना सदस्यको एक तिहाइ महिला हुनुपर्नेछ। संवैधानिक प्रावधानअनुसार एमालेले संघीय संसद्‌मा ३२ जना महिला पुर्‍याउनु पर्नेछ। उक्त पार्टीका तर्फबाट राष्ट्रिय सभामा ९ जना महिला सांसद् छन्। प्रत्यक्षमा ४ जनाले जितेका छन्। एमालेले पाएको ३४ मा १९ जना महिला समावेश गर्नुपर्नेछ।

राष्ट्रिय सभामा पनि धेरै महिला भएको र प्रत्यक्षमा पनि अन्य पार्टीभन्दा बढी जितेका कारण समानुपातिकबाट सबैभन्दा धेरै पुरुष पठाउन पाउने दल एमाले नै बनेको छ। एमालेले १५ जनासम्म पुरुष समानुपातिकबाट निर्वाचित गर्नेछ।

दलहरुले समावेशी प्रतिनिधित्व मिलाउँदा अन्य कलस्टर पनि हेर्नु पर्नेछ। त्यसअनुसार एमालेले १० जना आदिबासी जनजाति पठाउनुपर्ने हुन्छ। यो कलस्टरबाट १० जना नै महिला पर्ने सम्भावना कम छ। किनभने चुनावकै बेला पार्टी परिवर्तन गरेका र व्यवसायी समेत रहेका देवी प्रसाद भट्टचन यही कलस्टरको पुरुष पहिलो सूचीमा छन्।

अर्को एमालेले सांसद बनाउने बाचासहित पार्टीमा भित्र्याएका नेता हुन् पूर्व मन्त्री हेमराज राई। उनी चुनावअघि जनता समाजवादी पार्टीबाट एमालेमा आइपुगेका हुन्। त्यसैले ८ जना महिला समेटिन सक्ने देखिएका छन्।