आठ सडक पिच गर्दै उपमहानगरपालिका, कहाँ कति रकम खर्चिँदै?

आठ सडक पिच गर्दै उपमहानगरपालिका, कहाँ कति रकम खर्चिँदै?

धनगढी । धनगढी उप-महानगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न सडक कालोपत्रे तथा ग्राभेल गर्ने गरी काम अघि बढाएको छ ।

विगतमा ग्राभेल भई सकेका सडक कालोपत्रे र ग्राभेल गर्न बाँकी सडक ग्राभेल गर्ने गरी बोलपत्र आह्वान गरी निर्माण कार्यलाई अघि बढाउने तयारी गरेको हो ।

सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगरपालिकाका यी सडक कालोपत्रे भएमा स्थानीय बासीलाई सहजता हुनेछ ।  धनगढीले चालु आर्थिक वर्ष २०७९–८० मा आठ वटा सडक कालोपत्रे र एक सडक ग्राभेल गर्न प्रक्रिया अघि बढाएको उपमहानगरपालिकाले जनाएको छ ।

उक्त सडकहरूका लागि पुस १७ सम्म बोलपत्रको अन्तिम मिति तोकिएको छ । सोही दिन बोलपत्र खोल्ने तयारी उप-महानगरपालिकाको छ । 

धनगढी उप–महानगरपालिकाले वडा नं. १५ कनरी पार्क देखी पूर्व पट्टी स्थानीय रमाकान्तको घर देखि रामसमझको घरसम्म कालोपत्रे हुनेछ । उक्त सडकमा भ्याट बाहेक कुल लागत १५ लाख ९२ हजार ९२० रुपैयाँ ३७ पैसा कुल रकम खर्च हुनेछ । 

यस्तै, वडा नं.१५ कै स्थानीय कालीचरनको घर देखि मन्दिरसम्म र राष्ट्रिय विद्यालय देखी कल्पनाको घरसम्मको सडक कालोपत्रे गर्न भ्याट बाहेक कुल लागत १५ लाख ९२ हजार ९२० रुपैयाँ ३५ पैसा, वडा नं. २ मा टेक बहादुर रैकाको घर देखी नृप सुनारको घर सम्मको सडक कालोपत्रे गर्न चार लाख ४२ हजार ४७७ रुपैयाँ ८८ पैसा, वडा नं. ७ स्थित अम्खोला पुल देखी पश्चिमको सडक कालोपत्रे गर्न १४ लाख १५ हजार ८९५ रुपैयाँ ०६ पैसा विनियोजन गरिएको छ ।

वडा नं. ७ कै रामगोपालको घर देखी प्रकाश खड्काको घरसम्मको सडक कालोपत्रे गर्न आठ लाख ८४ हजार ८६८ रुपैयाँ ७२ पैसा, वडा नं. ९ को शैलेश्वरी टोल देखि लालीगुँराश टोल हुँदै शिवनगर टोलसम्म जोड्ने सडक कालोपत्रे गर्न १६ लाख ८५ हजार ४८२ रुपैयाँ ३२ पैसा,  वडा नं. ५ स्थित डबल बिष्ट सडकदेखि उत्तर तर्फ र  लब्ली चोक देखि नन्दलालको घरसम्मको सडक कालोपत्रे गर्न १५ लाख १३ हजार छ सय ६६ रुपैयाँ १९ पैसा रकम विनियोजन गरेको छ । 

यस्तै, वडा नं. १० मा पृथ्वी रानाको घर देखी दक्षिण तर्फको सडक कालोपत्रे गर्न ७ लाख सात लाख सात हजार ९६४ रुपैयाँ ६० पैसा विनियोजन गरेको छ भने वडा नम्बर ३ मा सडक ग्राभेल गर्न १७ लाख २५ हजार चार सय ०८ पैसा विनियोजन गरेको छ ।