बैतडीको मेलौली अस्पताल: स्थान विवाद हुदाँ दुई पक्षबीच झडप, ३५ जना घाइते

बैतडीको मेलौली अस्पताल: स्थान विवाद हुदाँ दुई पक्षबीच झडप, ३५ जना घाइते

बैतडी: बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माणका बिषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप भएको छ । वडा  १ र वडा नं ७ का स्थानीयबीच अस्पताल निर्माणका बिषयमा विवाद भएको हो ।  

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिनका लागि वडा नं ७ का स्थानीयबासिन्दाहरुले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए । 

त्यसका विरुद्धमा वडा नं १ का बासिन्दाले बुधबार नाराबाजी गरेका थिए । उनीहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग राखेका छन् । 

आज बिहीबार दुवै पक्षले नाराबाजी गर्दा झडप भएको हो । झडपमा वडा नं ७ का २५ जना घाइते भएका छन् भने उनीहरुमध्ये १० जना जति उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । वडा नं १ को समूहले आफूहरुमाथि ढुंगामुढा प्रहार गरेको उनीहरुले आरोप लगाएका छन् । 

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि वडा नं ७ का घाइते मात्रै पुगेका बताइएको छ । वडा नं १ तर्फका १० जना घाइते भएका स्थानीय विजयसिंह नायकले बताए ।

अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच झडप भएको र घाइतेको संख्या एकीन नभएको इलाका प्रहरी कार्यालय तस्सुदेहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी सहितको टोली मेलौलीका लागि हिँडेको बताइएको छ । 

अस्पातलको नाममा वडा नं १ र ७ दुवै ठाउँमा जमीन हुँदा कुन ठाउँमा बनाउने भन्ने बिषय अहिले सम्म सुल्झेको छैन् । २०७० सालदेखि अस्पताल निर्माणको कुरा उठेपनि स्थानीयहरुबीच विवाद हुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन् । 

अस्पतालकै बिषयलाई लिएर दुवै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन् ।