काँग्रेसले कस कसलाई बनाउँदै छ मन्त्री ?

काँग्रेसले कस कसलाई बनाउँदै छ मन्त्री ?

संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गत बुधबार संसदीय दलको निर्वाचन गरेको छ। 

सभापति शेरबहादुर देउवा प्रतिष्पर्धी महामन्त्री गगन थापालाई पराजित गर्दै दलको नेतामा चयन भइसकेका छन्। 

दलको नेता बनेसँगै सभापति देउवाका लागि छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। अहिलेसम्मको राजनीतिक घटनाक्रमअनुसार उनी प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ।

तर, देउवाविरुद्ध मोर्चाबन्दी गरेका अर्का आकांक्षी महामन्त्री थापाले मन्त्री नहुने घोषणा गरिसकेका छन्।

उता प्रतिनिधिसभा सदस्यमा विजयी हुनुअगावै थापालाई दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्ने घोषणा गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि मन्त्री नबन्ने पक्षमा देखिएका छन्।

‘संसदीय दलमा प्रतिस्पर्धा गरिसकेपछि फेरि त्यसकै कोसिस गर्छु। सरकारमा अरु साथी जानुहुन्छ,’ देउवासँग ३९ मतले पराजित भएपछि थापाले भनेका थिए, ‘कांग्रेसको महामन्त्रीका रुपमा काम गर्छु, सांसदका रुपमा अरु काम गर्छुु।’ 

दलका नेताको निर्वाचन परिणामपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महामन्त्री शर्माले पनि आफू तत्कालै मन्त्री बन्नेतिर नलाग्ने बताएका थिए। 

‘सरकारमा जाने साथीहरुलाई यो घोषणापत्र बोकेर काम गर्नुहोला है भन्नु राम्रो,’ उनले भनेका थिए, ‘तर, मैले पार्टीको कार्यालयमा काम गर्नुपर्छ। त्यसकारण मन्त्री बन्ने कुरामा तत्कालै विश्वप्रकाश शर्मा लाग्नु हुँदैन।’ 

हाल कायम सत्ता गठबन्धन यथावत रहेमा सभापति देउवा फेरि प्रधानमन्त्री बन्न सक्छन्। तर प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि बलियो दाबी छ। 

यदि देउवाले सरकारको नेतृत्व गरे कांग्रेसबाट को–को मन्त्री बन्लान्? कार्यकर्ताको चासोसँगै नेताहरुको नाम सम्भावित मन्त्रीका लागि चर्चामा छ। 

सम्भावित अनुहार
कांग्रेस संस्थापनबाट वर्तमान सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की दोहोरिने दाउमा छन्। उनीसँगै पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, डा. शशांक कोइराला, एनपी साउद, मोहन बस्नेत, उदय शमशेर राणा, विनोद चौधरी, दुर्लभ थापा र सीता गुरुङको नाम भावी मन्त्रीका रुपमा चर्चा भइरहेको छ। 

यस्तै संस्थापन इतर समूहबाट धनराज गुरुङ, बद्री पाण्डे, चन्द्र भण्डारी, सञ्जयकुमार गौतम र रामकृष्ण यादव पनि मन्त्रीका सम्भावित अनुहार हुन्। 

को बन्ला अर्थमन्त्री?
कांग्रेसवृत्तमा भावी अर्थमन्त्रीका रुपमा सञ्चारमन्त्री कार्की, पार्टी प्रवक्ता डा. महत र डलर अर्बपति विनोद चौधरीको नाम चर्चामा छ। 

बालुवाटारनिकट स्रोतका अनुसार कार्की अबको मन्त्रिपरिषद्मा अर्थमन्त्रीका रुपमा देखिने सम्भावना अधिक छ। 

तर, कांग्रेस संस्थापनकै एक समूह वर्तमान मन्त्रिपरिषद् सदस्यहरुलाई दोहो¥याउन नहुने ‘लबिङ’ मा छ। उनीहरुको ‘लबिङ’ सार्थक भए कार्की दोहोरिने सम्भावना रहँदैन। 

सुनसरी–४ बाट निर्वाचित कार्की मन्त्रीमा नदोहोरिए प्रवक्ता महत अर्थमन्त्री बन्न सक्ने चर्चा छ। उनी समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य हुन्। 

नवलपरासी पश्चिम–१ बाट विजयी  डलर अर्बपति चौधरीले पनि अर्थमन्त्राल सम्हाल्ने आकांक्षा राखेका छन्। त्यहीअनुसार उनी कांग्रेस नेतृत्वसँग लविङ गरिरहेका छन्।

सभापति देउवाका विश्वासपात्र कार्की आगामी मन्त्रिपरिषद्मा दोहोरिएर अर्थमन्त्री बने प्रवक्ता महतको भागमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पर्ने बालुवाटार स्रोतको दावी छ। 

गृहमा साउद, बस्नेत पनि आकांक्षी  
देउवा प्रधानमन्त्रीमा दोहोरिँदा गृह मन्त्रालय कांग्रेसका भागमा पर्न सक्छ। यस्तोमा कञ्चनपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एनपी साउदले त्यो जिम्मेवारी पाउने चर्चा पनि कांग्रेसवृत्तमा छ। सिँचाइ मन्त्रालय सम्हालिसकेका साउद गृहमन्त्री बन्ने सम्भावना रहेको उनीनिकट नेताहरु बताउँछन्।

सत्ता गठबन्धनको भागबण्डामा गृह मन्त्रालय कांग्रेसले नपाए नेता साउद भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने सम्भावना पनि छ। 

उनी १४ कांग्रेसको औँ महाधिवशेनमा महामन्त्रीका आकांक्षी थिए। तर, देउवाले प्यानल बनाउँदा महामन्त्रीको उम्मेदवार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको भागमा परेपछि ‘ब्याक’ भएका थिए। 

सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतले पनि गृह मन्त्रालयमै चाहना राखेका छन्। 

उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालिसकेका छन्। बस्नेत संस्थापन पक्षीय हक्की स्वाभावका नेताका रुपमा चिनिन्छन्। 

ललितपुर–१ बाट विजयी प्रतिनिधिसभा सदस्य उदय शमशेर राणाको नाम पनि भावी मन्त्रीका रुपमा चर्चामा छ। 

यसअघि अर्थ राज्यमन्त्री भइसकेका राणालाई भावी अर्थमन्त्रीका रुपमा हेरिए पनि उनी इच्छुक नभएको निकटवर्तीसँग बताउँदै आएका छन्। 

उनीनिकट कार्यकर्ताहरुका अनुसार राणाले सञ्चार, ऊर्जा र उद्योग, वाणिज्य तथा आपूर्तिमध्ये कुनै एक मन्त्रालयमा इच्छा राखेका छन्। 

तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सीता गुरुङको नाम पनि मन्त्री बन्ने सूचीमा पर्दछ। उनी कांग्रेसमा प्रत्यक्षतर्फ निर्वाचिन जित्ने एकमात्र महिला हुन्। 

मन्त्रिपरिषद् समावेशी बनाउन पनि उनी कांग्रेसबाट मन्त्री बन्न सक्ने सम्भावना बलियो छ। उनी भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भइसकेकी छन्। 

भक्तपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापा पनि मन्त्री हुनेमा ढुक्क छन्। उनले आफूनिकटसँग मन्त्रीका लागि बालुवाटारबाट ‘ग्रिन सिग्नल’ पाइसकेककाले पहिलो ‘लट’ मै क्याबिनेटमा जाने बताउँदै आएका छन्।

‘बागमती प्रदेशबाट एकजना मन्त्री बन्ने फिक्स हो,’ एक नेताले भने, ‘महत्वपूर्ण मन्त्रालय पाउनेमा बस्नेत ढुक्क देखिन्छन्।’

नवलपरासी बर्दघाट सुस्ता पूर्व–१ बाट विजयी डा. शशांक कोइरालाको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ। 

उनले मन्त्रीको इच्छा सभापति देउवासमक्ष राखिसकेको सञ्चारमाध्यममा अभिव्यक्ति दिइसकेका छन्। स्रोतका अनुसार उनले कृषि मन्त्रालयमा चाहना राखेका छन्। 

संस्थापन इतरबाट
कांग्रेस संस्थापन इतरबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, चन्द्र भण्डारी, सञ्जयकुमार गौतम र रामकृष्ण यादवको नाम पनि भावी मन्त्रीका रुपमा चर्चामा छ। 

‘धनराज दाइले चाहना राख्नुभएको छ। पोर्टफोलियोमा बद्री दाइ पनि माथि नै पर्नुहुन्छ। मन्त्री बन्ने चाहना राख्नु स्वाभाविक हो,’ पाण्डेनिकट स्रोतले भन्यो। 

कांग्रेस दलको निर्वाचनमा महामन्त्री थापाको समर्थक बसेका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलको नाम पनि चर्चामा छ। 

१४ औँ महाधिवेशनमा संस्थापन समूहबाट महामन्त्रीमा प्रतिष्पर्धा गरेका पौडेल दलको नेतामा देउवाविरुद्ध उभिएसँगै मन्त्री बन्ने सम्भावना न्युन भएको चर्चा भइरहेको छ। 

काठमाडौं–५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका पौडेललाई बालुवाटारले मन्त्री बनाउन चाहेको बताइरहँदा उनी एकाएक महामन्त्री थापाको समर्थक बसेका थिए। -नेपालखबरबाट