सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्रको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्रको दाबी

धनगढी । केन्द्रमा राजनीतिक नयाँ समिकरण भएसंगै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दुई दलको नेताहरुले दाबी गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा दोस्रो दल बनेको नेकपा माओवादी केन्द्र र तेस्रो दल बनेको नेकपा एमालेका नेताहरुले मुख्यमन्त्रीमा दाबी गरिरहेका हुन् ।

केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीको समिकरणमा सरकार बनाउने सहमति भएको छ ।

सोही समिकरणका आधारमा प्रदेशमा नेकपा माओवादी केन्द्र दोस्रो ठुलो दल भएकाले आफनो दलले मुख्यमन्त्री पाउनुपर्ने दाबी गरिरहेको छ । 

संविधानको धारा १६८ को उपधारा (१) अनुसार प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन गर्ने व्यवस्था छ । त्यसैगरी उपधारा (२) मा उपधारा (१) बमोजिम प्रदेश सभाको कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।  

प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि मुख्यमन्त्री बन्न चाहने नेताले प्रदेश सभामा बहुमत प्राप्त गर्नुपर्ने अवस्था रहेको छ । केन्द्रको समिकरण प्रदेशमा कायम भए मुख्यमन्त्री हुन चाहने नेताले स्पष्ट बहुमत प्राप्त गर्ने सम्भावना रहेको छ ।

प्रदेशमा माओवादी केन्द्र र एमालेले सरकारको नेतृत्व आलोपालो गर्न सक्नेछन् ।

प्रदेशमा नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरि २९ प्रदेश सभा सदस्य रहेका छन् । प्रदेशमा सबैभन्दा ठुलो दल रहेको नेपाली काँग्रेसका १९, एकीकृत समाजवादी पार्टीका चार र एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

प्रदेशमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा खगराज भट्ट र ओमविक्रम भाट (सरल) रहेका छन् ।

नेकपा एमालेमा संसदीय दलको नेता सहमतिमा बनाउने गरि छलफल अघि बढाउने तयारी भईरहेको छ । नेकपा एमालेमा पार्टीको वरियताका आधारमा बैतडीबाट समानुपातिकतर्फ निर्वाचित राजेन्द्र रावल संसदीय दलको नेता बन्ने दौडमा छन् । रावलले भने –‘पार्टीबाट प्रदेश सभामा निर्वाचित सबैभन्दा सिनियर र धेरै योगदान रहेकाले अहिलेनै दलको नेताबारे म बोल्न चाहदैन । पार्टीले जसलाई तोक्छ, त्यसैलाई दलको नेता स्वीकार्छु ।’

रावलपछि सोही पार्टीमा समानुपातिकतर्फ निर्वाचित कैलालीका धर्मराज पाठक पनि संसदीय दलको नेता बन्ने दौडमा रहेका छन् । 

यहाँ नवनिर्वाचित सांसदका लागि यही १५ पुसमा सपथग्रहण कार्यक्रम तय गरिएको छ । सपथग्रहणसँगै नयाँ सरकार गठनको प्रकृया अगाडि बढाउने प्रदेश प्रमुखको कार्यालयको तयारी छ ।

नेपाली काँग्रेस फेरी प्रमुख प्रतिपक्षी बन्ने सम्भावना

सत्ता समिकरणसंगै सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसले फेरी प्रतिपक्षीमै रहनुपर्ने अवस्था आएको छ ।

बाम लोकतान्त्रिक गठबन्धनको सरकार बनाउने गरि तयारी अघि बढीरहदा आइतबार मध्यान्हदेखि केन्द्रमा नयाँ राजनीतिक समिकरण भएसंगै काँग्रेस सरकारबाट बाहिरिनुपर्ने भएको छ । संघिय संरचनाअन्र्तगत भएको २०७४ को पहिलो प्रदेश सभामा पनि यस प्रदेशमा नेपाली काँग्रेसले झण्डै चार वर्षभन्दा बढी समय प्रमुख प्रतिपक्षी दलका रुपमा भुमिका निर्वाह गर्नुपरेको थियो ।

स्थानीय तह निर्वाचन २०७९ मिति तय भएसंगै २०७८ चैत २५ गतेदेखि नेपाली काँग्रेस प्रदेश सरकारमा सहभागि बनेको थियो ।

बाम–लोकतान्त्रिक गठबन्धनबाट मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसबाट प्रकाश देउवा, बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खडका र कमलबहादुर शाह दौडमा रहेका थिए ।