को हुन मन्त्री दामोदर भण्डारी ?

को हुन मन्त्री दामोदर भण्डारी ?

धनगढी । नवगठित मन्त्रिपरिषद्‌मा नेकपा एमालेले पठाएका दामोदर भण्डारी संसदीय राजनीतिमा नयाँ अनुहार हैनन्। तर सत्ता राजनीतिमा भण्डारी २०७२/०७३ मा छोटो समय अर्थ राज्यमन्त्री भएका थिए। 

दामोदर भण्डारी, बैतडी मन्त्रालय: बिना विभागीय

४८ वर्षीय दामोदर भण्डारी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन्। उनी २०४६ सालमा जनआन्दोलनबाट प्रभावित भएर राजनीतिमा आबद्ध भएका थिए। सुरुवातमा अनेरास्ववियुमा आबद्ध उनी एमालेको बैतडी सदस्य हुँदै सचिव (त्यति बेलाको कमिटी प्रमुख) र अध्यक्ष समेत भएका थिए। 

संसदीय राजनीतिमा ‘ह्याट्रिक’, गर्दा सत्तामा दोस्रो पटक 

भण्डारीले संसदीय राजनीतिमा प्रतिस्पर्धा गर्न थालेको २०६४ को पहिलो संविधान सभा निर्वाचनबाट हो। तर उनी उक्त निर्वाचनमा पराजित भए। भण्डारीले तत्कालीन बैतडी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए।

२०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा भण्डारी दोस्रो प्रयासमा सोही क्षेत्रबाट निर्वाचित भए। त्यस्तै, संविधान जारी भएपछि २०७४ मा भएको आमनिर्वाचनमा भण्डारीले पुनः बैतडीबाट जित निकाले। मङ्सिर ४ को निर्वाचनमा भण्डारीले  जितलाई ‘ह्याट्रिक’ मा परिणत गरे। 

सत्ता यात्रा 
यो बिचमा भण्डारी २०७२ मा केपी ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बनेका थिए। उनले सत्तामा पुनरागमन गर्न २०७९ को पुससम्म कुर्नु परेको छ। सोमबार मन्त्रीको शपथ लिएका भण्डारी बिना विभागीय मन्त्री बनेका छन्।