बजार बढ्न थालेपछि लगानी रणनीति बनाउँदै लगानीकर्ता, नाफा कमाउन कस्ता कम्पनी छान्ने ?

बजार बढ्न थालेपछि लगानी रणनीति बनाउँदै लगानीकर्ता, नाफा कमाउन कस्ता कम्पनी छान्ने  ?

काठमाण्डौ । नेपालको सेयर बजार यतिबेला तल्लो विन्दुबाट फर्किएर माथि जाने क्रममा छ। नयाँ सरकार गठन भएको छ। बजारले रुचाएका व्यक्ति विष्णु पौडेल अर्थमन्त्री बनेका छन्।

अर्थमन्त्री बनेलगत्तै पौडेल अर्थतन्त्र सुधार गर्न निकै दौडधुप गरिरहेका छन्। समग्र अर्थतन्त्रका साथै सेयर बजारलाई माथि उकास्न उनका भेटघाट र बैठकलाई बजारले स्वागत गरिरहेको छ। 

बजार फर्किन थालेपछि ब्रोकर हाउसहरुमा भीडभाड बढ्न थालेको छ। त्यहाँ भेटिएका लगानीकर्ताहरु आगामी लगानी रणनीतिबारे छलफल गर्न व्यस्त हुन थालेका देखिन्छन्। 

प्रज्ञान सेक्युरिटिज (ब्रोकर नं. १०)मा भेटिएका दीपक रिजाल अब विगतमा जस्तो कमजोर कम्पनीमा लगानी गर्न नहुने बताउँछन्। ‘बलिया र राम्रा कम्पनी बुक भ्यालुको नजिक आएका सस्ता कम्पनीले पनि राम्रो लाभांश दिन सक्छन्’, उनले भने, ‘कमजोर कम्पनीमा लगानी गर्दा सधैँ ३२०० को बुलजस्तो हुँदैन, लाभांश पनि पाइँदैन।’

बलिया र राम्रा कम्पनीमा लगानी गरे राम्रो नाफा कमाउन सकिने रिजाल बताउँछन्। ‘यसपटकको बुल फरक सेक्टरमा आउन सक्छ’, उनले भने। 

अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९)मा भेटिएका अर्का लगानीकर्ता रमेश हुमगाईं भने अब बजार बढ्नेमा ढुक्क छन्। ‘नयाँ अर्थमत्रीले सम्पूर्ण लगानीकर्ताको मनोबल बढाएका छन्, बजारलाई चाहिने पहिलो भिटामिन भनेकै मनोबल हो’, उनले भने, ‘त्यसपछि नीति–नियम र तरलताका कुरा आउँछन्।’

पहिलेको बुलमा कमजोर कम्पनीमा धेरै फाइदा भएको उल्लेख गर्दै हुमागाईंले यसपालिको बुलमा त्यस्ता कमजोर कम्पनीमा नाफा कमाउन नसकिने बताउँछन्। ‘तल्लो विन्दुमा किनेर माथिल्लो विन्दुमा बेच्नेले त कमाए तर माथिल्लो विन्दुमा किन्नेले बजार घट्दा ठूलो घाटा खानुपर्यो’, उनले भने।

कमजोर कम्पनीहरुले लाभांश पनि नदिने र दिए पनि कम दिने भएकोले समयमै बेच्न नसक्नेले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्ने हुमागाईं बताउँछन्। ‘मैले पनि केही कम्पनीमा घाटा व्यहोरेको छु’, उनले भने, ‘त्यसैले यसपटक राम्रा कम्पनीमा लगानी गर्दै जाने हो, त्यस्ता कम्पनीले लाभांश पनि राम्रै दिने हुनाले बुल आउने समयसम्म मनग्य नाफा कमाउन सकिन्छ।’ 

प्रिमियर सेक्युरिटिज ९ब्रोकर नं। ३२०मा भेटिएका लगानीकर्ता अजय शिवाकोटी पनि बजार अब माथि जानेमा आशावादी छन्। ‘अर्थतन्त्रमा विस्तारै सुधार हुँदै गएको छ, तरलता पनि सहज हुँदै गएको छ’, उनले भने, ‘त्यसैले सेयर बजार पनि बढ्ने सम्भावना छ।’

अब ब्याजदर पनि बढ्नेभन्दा घट्ने सम्भावना रहेकोले बजार माथि नै जान सक्ने शिवाकोटी बताउँछन्। ‘नयाँ अर्थमन्त्रीले सेयर बजारमैत्री नीति–नियम ल्याएमा बजार माथिल्लो विन्दु तोड्दै अगाडि बढ्न सक्छ’, उनले भने, ‘सन् २०२२ सेयर बजारका लागि सुखद् हुन सकेन तर सन् २०२३ मा बजार नयाँ कीर्तिमान कायम गर्ने सम्भावना छ।’ 

शिवकोटी पनि राम्रा कम्पनी छानेर लगानी गर्दा भविष्यमा राम्रै प्रतिफल प्राप्त गर्न सकिने बताउँछन्। ‘अरुले भनेको भरमा नराम्रा र कमजोर कम्पनीमा लगानी गर्दा छोटो समयका लागि नाफा कमाएको जस्तो त देखिन्छ तर बजार बढ्दै जाँदा लोभले नाफा बुक गर्न नसक्दा बजार घट्न थालेपछि लगानीसमेत डुब्ने अवस्था आउन सक्छ’, उनले भने, ‘किनकि कमजोर कम्पनी बजार बढ्दा जसरी बढ्छ, घट्दा पनि त्यसरी नै घट्ने भएकोले बेच्ने मौका नै पाइँदैन।’

त्यसैले कम्पनीहरुको अध्ययन गरेर लगानी गर्नु नै उचित हुने शिवाकोटीको सुझाव छ।