बच्चाको प्रश्नमा रेखाको जवाफ ‘भर्खर त १६ वर्षकी भएँ’

बच्चाको प्रश्नमा रेखाको जवाफ ‘भर्खर त १६ वर्षकी भएँ’

२०७८ सालमा जाजरकोटका बलराम शाहीसँग अदालती विवाह गरेकी अभिनेत्री रेखा थापाले सन्तानका लागि अहिले आफ्नो उमेर नभइसकेको बताएकी छन् । बिहीबार फिल्म ‘ह्यारी कि प्यारी’को गीत रिलिज कार्यक्रममा पत्रकारले सोधेको बच्चाको प्रश्नमा उनले भनिन्, ‘भर्खर त म १६ वर्षकी भएँ । म अलि धार्मिक भएकाले जुर्नु पनि पर्छ भनिन्छ । तर, फिल्म र सन्तान सँगसँगै देख्न पाइन्छ ।’

केही वर्षयता रेखा अभिनयभन्दा राजनीतिमा सक्रिय छिन् । यसपालीको संघीय निर्वाचनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नं। ३ का लागि प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी थिइन् । तर, चुनावी नतिजा उनको पक्षमा आएन । उनी राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा पनि पराजित भएकी थिइन् । अब भने उनी फिल्म निर्माण तथा अभिनयमा फर्किँदैछिन् ।

उनले भनिन्, ‘कोरोना महामारीका कारण रोकिएको फिल्म अब सुरु गर्दैछु । दुईटा फिल्म पाइपलाइनमा छन् । एउटा फागुनमा र अर्को बैशाखमा छायांकन हुनेछ । अहिले त्यसैको काम भैरहेको छ । महाधिवेशन, स्थानीय तहको निर्वाचन र संघीय निर्वाचनले गर्दा मैले नभ्याएका कारण फिल्म नबनाएको हो ।’ रेखाले दुई फिल्मध्ये एउटा आगामी भदौमा प्रदर्शन हुन सक्ने बताएकी छन् ।

आफू जहाँ पुगे पनि पहिलो प्राथमिकतामा फिल्म नै हुने रेखाको भनाई छ । ‘मेरो आत्मा जोडिएको ठाउँ हो यो । जुन ठाउँले मलाई चिनाएको छ, त्यो त छाड्दै छाड्दिनँ । मेरो पहिलो प्राथमिकता फिल्म नै हुन्छ,’ उनले भनिन्, ‘मैले फिल्म खेले पनि वा नखेले पनि फिल्म चाहिँ बनाउँछु नै । ९० वर्षको उमेरमा पनि एक्सन(कट भनेरै बस्छु, यदि सकिनँ भने फिल्म निर्माण गरेर भए पनि बस्छु ।’