बुटवलको दुर्घटनामा प्युठानका युवकको मृत्यु

बुटवलको दुर्घटनामा प्युठानका युवकको मृत्यु

काठमाडौं । बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जिप गयराति दुर्घटना हुँदा प्युठानको गौमुखी गाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त जिप अनियन्त्रीत भई पल्टिदा सोही स्थानका २९ वर्षीय सुरेश तामाङ र मिन बहादुर तामाङ घाइते भएका छन्। घाइतेमध्ये सुरेश तामाङको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रहरीका अनुसार तीव्र गतिमा सडकको बायाँ साईडबाट गुडिरहेको उक्त जिप सडकको मध्य भागमा रहेको डिभाइर नाघेर विपरीत दिशामा पुगेको थियो।

सडकको एउटा किनारबाट अर्को किनारमा पुगेको उक्त जिपले ठक्कर दिँदा सडक किनारमा रहेको बिजुलीको पोलसमेत भाच्चिएको प्रहरीले जनाएको छ।