प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुहुने

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुहुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ मा विश्वासको मत लिने भएका छन्। उनले संसद् सचिवालयलाई पत्र पठाएर पुस २६ का लागि कार्यसूचीमा राख्न अनुरोध गरेका छन्।
‘२०७९ साल पुस २६ गतेको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु, प्रधानमन्त्री प्रचण्डले संसद् सचिवालयलाई पठाएको पत्रमा भनेका छन्।

नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। उनले पुस ११ गते नै शपथ लिएर कार्यभार सम्हालेका थिए।

यसअघि गठबन्धनको बैठकमा पुस २९ मा विश्वासको मत लिने विषयमा छलफल गरेका थिए। तर, उनले पुस २६ मै विश्वासको मत लिने निर्णय गरेका हुन्।

उनले प्रधानमन्त्रीमा दाबी पेस गर्दा विभिन्न सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए। त्यसआधारमा उनको पक्षमा १६९ मत देखिन्छ। विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ।

Prachand-Notice1672648178.jpg