कुन दलले पाउला सुदूरपश्चिमको सभामुख ?

कुन दलले पाउला सुदूरपश्चिमको सभामुख ?

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि पुष २८ गते निर्वाचन गर्ने गरि मिति तय भईसकेको छ ।
नवनिर्वाचित प्रदेश सभा सदस्य तथा ज्येष्ठ सदस्य मानबहादुर रावलले सोमबार बसेको दोस्रो कार्यकालको प्रथम बैठकमा ‘पुस २८ गते दिनको १ बजे सभामुखको निर्वाचन गराउने गरि कार्यतालिका बनाई सूचना टाँस गर्न’ प्रदेश सभा सचिवालयका सचिवलाई निर्देशन दिए ।
सभामुखको निर्वाचन मिति तय भएपनि दलहरुबाट को सभामुख बन्छ भन्ने निश्चित हुन सकेको छैन् । प्रदेशमा दलबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री तथा मन्त्रालयमा नजर पुगाउनु र केन्द्रको समिकरणको टुङ्गो नलाग्दा दलहरुबाट सभामुखका आँकाक्षीहरुको टुङ्गो लाग्न सकेको छैन् ।

प्रदेशमा सर्वसम्मत ढंगले सभामुख चयन हुने सम्भावना छैन् । नेपाली काँग्रेसबाट निर्वाचित मेघराज खडकाले भने –‘हामी अल्पमत वा बहुमतमा परेपनि सभामुखमा हाम्रो उम्मेदवारी हुने छ । यहाँ सर्वसम्मत सभामुख चयन हुने छैन् ।’
प्रदेशमा सबैभन्दा ठुलो दल बनेको नेपाली काँग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि नबढाएकोले सभामुख को बन्नेबारे पनि अनिर्णित छ । उनले भने –‘दलको बैठक बस्न सकेको छैन । हामीले छलफल गरेरनै सभामुख, उपसभामुखको उम्मेदवार टुङ्गो लगाउने छु ।’ उनले सम्भवतः यही हप्ताभित्र काँग्रेसले दलको नेता र सभामुख तथा उपसभामुखको उम्मेदवार टुङ्गो लगाउने बताए ।

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभामा सात सदस्यीय निर्णायक हुँदा सरकारको समिकरण कस्तो हुन्छ भन्नेमा पनि दलहरु अनिर्णायक छन् । मुख्यमन्त्रीको दाबीसहित सरकारमा जाने अठोट लिएको उन्मुक्ति केन्द्रको समिकरणमा साथ दिन्छ वा नयाँ समिकरण बनाउँछ भन्ने पनि टुङ्गो छैन । सो पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले भने –‘प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहेको छ । म मुख्यमन्त्रीका लागि योग्य पनि छु । त्यही अनुसार अघि बढ्छौं ।’ 
नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य कैलाश चौधरीले सभामुख तथा उपसभामुखबारे दलभित्र छलफल नभएको बताए । उनले भने –‘हाम्रा मागहरु पुरा नभएसम्म सरकारमा नजाने निर्णय भएको छ । सभामुख तथा उपसभामुखमाबारे छलफल गर्छौ । यसबारे केही दिनमै निर्णय हुने छ ।’ 

नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्यले धर्मराज पाठकले भने –‘हामीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छौं । केन्द्रको समिकरणको टुङ्गो नलाग्दा यहाँ कुन दलले कुन पद लिने बारे पनि अनिश्चित भएको छ । केही दिनमै यसबारे केन्द्रले टुङ्गो लगाएपनि सभामुख र उपसभामुख जुन पद पायो दलले सोही अनुसार उम्मेदवार चयन गर्ने छ ।’
केन्द्रको समिकरणका आधारमा प्रदेशमा नेकपा एमालेले सभामुख पद पाएमा सन्तोषी कुमारी शर्मा (थापा) सम्भावित उम्मेदवार हुने देखिन्छ । सन्तोषी संसदीय दलको उपनेता समेत हुन ।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरु पनि केन्द्रको समिकरणको पर्खाइमा छन् । माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित रमेश धामीले भने –‘केन्द्रको निर्देशनका आधारमा प्रदेशमा विभाजन गरिएका पदमा हाम्रा प्रदेश सभा सदस्यको उम्मेदवार चयन हुने छ । अहिलेसम्म सभामुख र उपसभामुख कुन पद पाउने निश्चित नहुँदा दलभित्र छलफल भएको छैन ।’ उनले दलभित्र अहिलेसम्म छलफल नहुँदा सभामुख तथा उपसभामुख पदका आँकाक्षी नदेखिएको बताए ।
प्रदेश सभाको पहिलो कार्यकालमा यस प्रदेशमा मुख्यमन्त्री नेकपा माओवादी केन्द्र, सभामुख नेकपा एमाले र उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा थियो । केन्द्रको नयाँ समिकरणका आधारमा पनि यस प्रदेशमा मुख्यमन्त्रीको दाबी नेकपा माओवादी केन्द्रले गरिरहेको छ । 

सम्भावित समिकरण

केन्द्र समिकरण
केन्द्रको समिकरणलाई कायम गराउन यस प्रदेशमा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री पद र अन्यमा नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेमा पद बाँडफाँड गर्दा केन्द्रको समिकरणले स्पष्ट बहुमत पाउने छ । मुख्यमन्त्री उन्मुक्तिले पाएमा नेकपा एमालेले सभामुख र नेकपा माओवादी केन्द्रले उपसभामुख पद लिने सम्भावना रहन्छ । 
प्रदेशमा यस समिकरणका आधारमा स्पष्ट बहुमत रहेको छ । नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक गरि २९ पुग्छ । ५३ सदस्यीय रहेको यस प्रदेशमा बहुमत पाउन २७ सदस्यीय आवश्यक रहन्छ ।
संविधानको धारा ९१(२) मा सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलको प्रतिनिधि हुनुपर्ने भन्ने व्यवस्था गरेको छ ।

नेकपा एमाले–माओवादी–एस–राप्रपा समिकरण
मुख्यमन्त्री माओवादी केन्द्रका बनाएर अन्य पदमा सभामुख तथा उपसभामखु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई बनाई नयाँ समिकरणबाट पनि प्रदेश सरकार गठन गर्न सकिने देखिन्छ । तर, यस समिकरणमा बहुमत पुर्याउन स्वतन्त्र प्रदेश सभालाई पनि मिलाउनुपर्ने देखिन्छ ,
नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, एकीकृत समाजवादी पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका गरि २६ जना प्रदेश सभा सदस्य पुग्छ । यस समिकरणमा स्वतन्त्रको साथ लिए नयाँ समिकरणको सरकार बनाउने सम्भावना देखिन्छ ।

काँग्रेस–उन्मुक्ति–स्वतन्त्र समिकरण
नेपाली काँग्रेसले मुख्यमन्त्री उन्मुक्तिलाई दिने गरि समिकरण गर्दा सभामुख नेपाली काँग्रेस र उपसभामुख स्वतन्त्रलाई बनाउने गरि नयाँ समिकरण बन्न सक्छ । 
प्रदेशमा नेपाली काँग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका सात र एक स्वतन्त्र एक गरि २७ जनाको सरकारको समिकरण बन्न सकिन्छ । यस प्रदेशमा ५३ सदस्य रहेकोमा सरकार बनाउन बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यकता रहन्छ ।

काँग्रेस–उन्मुक्ति–एस समिकरण
नेपाली काँग्रेसले मुख्यमन्त्री उन्मुक्तिलाई दिने गरि समिकरण गर्दा सभामुख नेपाली काँग्रेस र उपसभामुख नेकपा एकीकृत समाजवादी पार्टीलाई बनाउने गरि नयाँ समिकरण बन्न सक्ने सम्भावना रहेको छ । 
प्रदेशमा नेपाली काँग्रेसका १९, नागरिक उन्मुक्ति पार्टीका सात र एसका चार गरि ३० प्रदेश सभा सदस्य पुग्छन् । केन्द्रमा सरकारमा एस पार्टी सामेल नभएकाले यस समिकरणका आधारमा पनि सरकार गठन हुने सम्भावना रहेको छ ।

काँग्रेस–माओवादी–एस
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गठबन्धन गरेर निर्वाचित भएकाले यस प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने र सभामुख तथा उपसभामुख अन्य दललाई दिने गरि सत्ता समिकरणको सम्भावना पनि रहेको छ । 
प्रदेशमा नेपाली काँग्रेसका १९, नेकपा माओवादी केन्द्र ११ र एसका चार गरि ३४ प्रदेश सभाले स्पष्ट बहुमत रहेको छ ।