बझाङमा चैतली मेला सुरु

बझाङमा चैतली मेला सुरु

बझाङ : सुदूरपश्चिमको बझाङ जिल्लामा लाग्ने प्रशिद्ध धार्मीक तथा ऐतिहासिक मेला चैतली बुधबारदेखि सुरु भएको छ । महिसासुर दानबलाई मार्न दुर्गा माताले बनाएकोे योजनाको चित्रणलाई चैतली मेलाका रुपमा चिनिन्छ ।

सो मेला बझाङ जिल्लाको छबिस पाथीभरा गाउँपालिकामा लाग्ने गर्दछ । किम्बदन्ति अनुसार शक्तिशाली महिसासुर दानवले देवी देउतालाई दुःख दिनथालेपछि दुर्गादेवी माताले महिसासुरलाई मार्न जंगलबाट लुंगो ल्याउन भनेपछि मेलाको सुभारम्भ भएको मान्यता छ । महिसासुर दानवलाई वध गरेको खुशियालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको धार्मिक मान्यता छ ।

सोही अनुसार चैते औंसीको दिन बझाङका स्थानीय तीन वटा छुट्टाछुट्टै स्थानमा गएर लिङ्गो अर्थात काँकर ल्याउने गर्दछन् । जसलाई काँकरे औंशी भन्ने गरिन्छ । त्यसको १३ दिनपछि सोही काँकरको प्रदर्शन चैतली मेलाको मुख्य विशेषता मानिन्छ ।

तीन वटा काँकर मध्य आजका दिन पहिला मुम्लाको काँकर प्रदर्शन गरिन्छ, । त्यसको केही समयपछि धामी लगायतका स्थानीयले ल्याएको काँकर लाई अगाढी बढाएपछि मुम्ला तर्फको काँकरको प्रदर्शन गर्दै ठाडो पारेर हिँडाइन्छ ।

दुर्गादेवी माताले सोही अनुसार तोलेनी भन्ने स्थानमा काँकर हिडाएर महिसासुरको छाती तिरेको धार्मिक मान्यता छ । केही पर बाँन्नीचौरमा रहेको बोहरा समुदायको काँकरलाई पनि विस्तारै प्रर्दशनमा ल्याइन्छ ।

तीन वटै काँकरलाई मष्टा मन्दिरमा चढाएपछि तीन वटै काँकर पक्षका समुह मिलेर भकुण्डो (घरपालुवा जनावरको छाला बाट निर्मित ठूलो आकारको बल) खेलिन्छ । जसलाई महिशासुरको टाउकोका रुपमा पनि लिने प्रचलन रहेको छबिस पाथिभराका ज्योतिष तथा जेष्ठ नागरिक रामराज जोशीले बताए ।

चैतली मेला भर्न आएका हजारौं श्रदालुहरुले बान्नीको काँकर र बान्नी मष्टाको दर्शन गर्ने गर्दछन् । मेलामा डेउडा प्रतियोगिताको आयोजना गरिने गरिन्छ । चैत्र औँसीका दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमा हुँदै त्रयोदशी सम्म लाग्ने गर्दछ ।

मेला सुरु भएपछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका पुजारीहरु चोखो भएर ब्रत बस्ने गर्दछन् । छविस पाथीभरा गाउँपालिकामा रहेको बान्नीकी चैतली हेर्न सदुपश्चिम लगायत भारत तथा देशका विभिन्न स्थानबाट श्रदालु भत्तजन सँगै जात्रुहरु सो स्थानमा पुग्ने गर्दछन् ।

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । झण्डै ४०-५० मिटर लामो कांकर (लिङ्गो) लाई मानिसहरुले समाएर ५ सय मिटर जति हिँडाउने गरिन्छ ।

स्थानीयको घरमा जस्तोसुकै समस्या आइपरे पनि अनिवार्य रुपमा यो पर्व मन्नु पर्ने प्रावधान रहेको छ । घरमा मान्छेको मृत्यु भएको अवस्थामा पनि लास घरमै राखेर यो मेला मनाउने चलन रहि आएको स्थानीयले बताएका छन् ।

दसैँ तिहार भन्दा पनि ठूलो पर्वका रुपमा यस पर्वलाई मनाउने गरेको स्थानीय बासिन्दा विष्णु ऐडीको भनाइ छ । घोडेजात्राको दिनदेखि सुरु भएर पूर्णिमासम्म चल्ने यो मेलाको काँकर ल्याउने दिन महत्वपूर्ण मानिन्छ । यस दिन घरबाट लगिएका बोकाहरू काँकरमा बलि दिने प्रचलन रहेको छ ।

बाजा गाजा सहित तीन गाउँका अलग अलग समूह बनाएर काँकर (लिङ्गो) काट्न गएको र काँकर बोकेर ल्याएको हेर्नका लागि छविस क्षेत्रमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।  यो वर्ष मेलाको आकर्षण बढाउनका लागि विभिन्न गाउँकाबीच डेउडा प्रतियोगिता, भलिबल प्रतियोगिता समेत आयोजना गरेको छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए ।

मेला हेर्न आउनेहरुको लागि खाना र बासको व्यवस्था गर्न मेला स्थल आसपासका गाउँहरूलाई अस्थायी होमस्टेको रूपमा प्रयोग गर्ने तयारी भैरहेको उनले बताए ।

साभार : देशसञ्चार