प्रिमियर लिगः फुलहामसँग चेल्सी पराजित

प्रिमियर लिगः फुलहामसँग चेल्सी पराजित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत १० खेलाडीमा सीमित भएको चेल्सीले फुलहामसँग पराजय भोगेको छ । बिहीबार राति भएको खेलमा फुलहामले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

चेल्सीविरुद्ध फुलहामलाई जित दिलाउन विलियन तथा अल्भेस मोराल्सले एक-एक गोल गरे । चेल्सीका लागि कालिडोउ कोलीबेलीले एक गोल फर्काए ।

विलियनले २५ औँ मिनेटमा गोल गर्दै फुलहामलाई सुरुवाती अग्रता दिलाए । चेल्सीका कोलीबेलीले ४७ औँ मिनेटमा बराबरी गोल गरे ।

तर ५८ औँ मिनेटमा जोआन फेलिक्सले रातो कार्ड खाएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि मोराल्सले ७३ औँ मिनेटमा गोल गर्दै फुलहामलाई महत्वपूर्ण जित दिलाए ।   जितसँगै १९ खेलबाट ३१ अंक जोडेको फुलहाम छैटौ स्थानमा रहेको छ ।