कक्षा १ मा भर्ना गर्दा प्रवेश परीक्षा नलिन निर्देशन

कक्षा १ मा भर्ना गर्दा प्रवेश परीक्षा नलिन निर्देशन

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । उसले प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन समेत नगर्न निर्देशन दिएको छ ।

मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षाहरुमा बालबालिकाको सर्वाङ्गीण विकास हुने क्रियाकलाप नगरी पढाउने, घोकाउने तथा कण्ठ गराउने, त्यस्तै प्रकृतिका गृहकार्य दिने अभिभावकको गुनासो आएको पनि केन्द्रले जनाएको छ ।

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र लेख्दै आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन र भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन आग्रह गरेको छ ।