प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको विजयी सुरुवात

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको विजयी सुरुवात

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विजयी सुरुवात गरेको छ । जनता क्रिकेट पार्क इटहरीमा भएकाे खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ३३ रनले हरायाे । 

सुदूरपश्चिमले दिएकाे एक सय २८ रनकाे लक्ष्य पछ्याएकाे बाग्मतीले २० ओभरमा सात विकेट गुमाएर ९४ रनमात्र बनाउन सक्याे । बाग्मतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १६ रन बनाइन् । सुदूरपश्चिमकी ऋतु कनाैजिया र मनिशा चाैधरीले दुई/दुई विकेट लिइन् । 

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिमले २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनायाे । सुदूरपश्चिमका लागि कविता कुँवरले ५० र ऋतु कनाैजियाले नटआउट २७ रन बनाइन् । बाग्मतीकी अस्मिना कर्माचार्यले दुई विकेट लिइन् ।

जितसँगै सुदूरपश्चिमले अङ्क तालिकामा दुई अङ्क जोडेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगिता आजदेखि सुरु भएको हो । यो प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी आठ टाेलीको सहभागिता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

दुई वटा समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ ७ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।