सहारा खोजिरहेका परिवारको घर कथा

सहारा खोजिरहेका परिवारको घर कथा

धनगढी । कैलालीको गाैरिगंगा नगरपालिका वडा नम्बर १ गाेप्काका केशव सिंह भुल दिल्लीमा श्रम गरिरहेका थिए । पुस १७ गते उनको मोबाइलमा फोन बज्यो । अप्रत्याशित खबर सुने लगत्तै उनी काम छोडेर अस्पताल हिँडे । उनलाई फोनमा मामा, माइजूको मृत्युको खबर पुगेको थियो । 

भारतको उत्तराखण्डमा मजदुरीको काम गर्दै आएका  उनका मामा ३६ वर्षीय चन्द्रबहादुर भुल, उनकी माइजू ३५ वर्षीय श्रीमती कुमारी भुल र २ वर्षीय छोरीको कोठामा निसास्सिएर मृत्यु भएको खबर उनले पाए। 

१६ गते राति मृत्यु भए पनि उनले ढिला गरी खबर पाएको बताए । उनले अहिलेसम्म मृत्युको वास्तविक कारण भने सुन्न पाएका छैनन् । घरमै भेटिएका उनले भने -एक हप्तामा अस्पतालको रिर्पाेट आउँछ भनेका थिए । आर्थिक अवस्था कमजोर छ । रिर्पाेट ल्याउन  कसरी जाने होला ? 

कोठाभित्र निसास्सिएर मरेको भन्ने सुरुमा सुनेको हो तर, तेस्रो तलामा बस्दै आएको सो कोठामा हावा प्रवाह राम्रै थियो । यो कारण विश्वास गर्ने आधार छैन, उनले भने । 

मृतक भुल घर मालिकको घरमा खाना बनाउने काम गर्थे । हरेक वर्षको छ/छ महिनामा घर आवतजावत गरिरहेका भुल भाइटिका मनाउन भनी घर फर्केका थिए । तर, उनी भाइटिका नलगाई श्रीमती र कान्छी छोरी लैगएर भारतमा रोजगारी गरिरहेका थिए ।

स्वर्गीय भुलका चार छेराछेरी हुन् । कान्छी छोरीसँगै मरेपछि घरमा तीन जना छन् । उनका छोराछोरी गाैरिगंगास्थित पशुपति माविमा अध्यापन गरिरहेका छन् । जेठो छोरा भुवन कक्षा सात, माहिली छोरी पूजा कक्षा ४ र साइँली आशा कक्षा १ मा पढ्दै छन् । 

पूजा स्कुलमा थिइन। पूजा र भुवन बिदा भयकोले घरमै भेटिए । बुबा गुमाएपछि उनीहरूको हेरचाहको जिम्मेवारी बजैको काँधमा छ । उमेरले ६३ वर्ष पार गरिसकेकी जसुलाई नातीनातीनाकाे हेरचाह कसरी गर्ने भन्ने चिन्ता छ ।  जसुका श्रीमान् ओछ्यानमा सुतेका थिए । घरभन्दा केही वरकाे गोठजस्तै कोठामा जसुका ८५ वर्षीय श्रीमान् कासे सुतिरहेका थिए । उनी हिड्डुल गर्न सक्दैनथे । जसुकाे आँखा छोराको यादमा भिजेको थियो । भित्रबाट स्वर सुनियो ऐ नराेउँ । 

सहारा चाहिएको बेला सहारा बनिरहेको छोरा बुहारीको मृत्युको खबरले मन दुखेको छ भने नातिनातिना कसरी हेर्ने भन्ने चिन्ता  छ उनले भनिन् घरमा खानाको जोहो गर्न त समस्या छ । नातीनातीनाकाे कपडा, किताब, स्वास्थ्योपचार कहाँबाट गर्ने हो ? 

जसुले घरमै बाँसबाट छाप्रा र डोका घर आँगनमै बनाउने गरेकी छिन् । त्यो पनि तयार गर्न हप्ता दिन लाग्छ । बनाए पनि विक्री गर्न समस्या हुने गरेको बताइन । उनले भनिन यसैले घर गुजारा नहुने भएपछि उनका छोराहरू भारततिर लागेका हुन् । 

भुलका जेठो दाइ पनि छन् । तर, उनको एक हात कमजोर हुँदा आफ्नै घरपरिवार पाल्न मुस्किल रहेको छ । जेठो छोराका पनि छोराछोरी छन् । उसले पनि यिनीहरूको जिम्मा लग्न सक्ने अवस्था छैन ।

भुलको घर छेउमै नदी छ । नदीमा तटबन्ध छैन । नदीका कारण घर कटानको उच्च जोखिममा छ । एक कट्ठा जमिन छ । नदीको धार परिवर्तनले बर्सेनि कटान हुँदै छ । जग्गा र घर धेरै दिन यो नदीबाट बच्ला जस्तो छैन ।

भुलका छोराछोरीबारे जानकारी पाएका स्थानीयहरू खाद्यान्न तथा रकम लिएर सहयोग गरिरहेका छन् । स्थानीय तहले पनि सो परिवारलाई क्रिया खर्च तथा अन्य रकम सहयोग गरेको थियो । वडा कार्यालयले बालबालिकाको निःशुल्क शिक्षाको व्यवस्था गर्ने आश्वासन दिएको छ । जसु भन्छिन् अहिले त केही सहयोग पाइरहेका छौ तर, वर्ष भरी त कति सहयोग गर्लान् । त्यसै नातिनातिना लालनपालनकाे जिम्मा सरकार वा कुनै संस्थाले लगेको सजिलो हुने थियो ।