प्रदेशमा एमाले र माओवादीको भागबण्डा मिल्यो, प्रदेश ७ को कमिटी यस्ताे बन्यो!

प्रदेशमा एमाले र माओवादीको भागबण्डा मिल्यो, प्रदेश ७ को कमिटी यस्ताे बन्यो!

प्रदेश र जिल्ला कमिटी एकीकृत गर्न नेकपामा भागबण्डा मिलेको छ। भदौ दोस्रो सातासम्म एकीकृत भइसक्ने नेकपाका प्रदेश र जिल्ला कमिटीहरुको लागि करिब भागबण्डा मिलेको जनाइएको छ। 

जिल्ला कमिटीहरुलाई आफैं मिलाउन प्रेरित गरिएको एकता प्रक्रिया प्रदेश कमिटीमा पुग्दा आमरुपमा बराबरीकै सिद्धान्तमा हुन लागेको बताइएको छ। 

आम चुनावदेखि प्रदेश सरकार गठन हुँदै पार्टी एकतासम्म पुग्दा ६०/४०, ७०/३० र ५५/४५ को भागबण्डा गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका तल्ला कमिटीहरुको एकीकरण भने बराबरी संख्यामा गर्न लागिएको हो।

सातै प्रदेशमा एकीकरणका लागि गठित कार्यदलले जिल्ला कमिटीसम्मको एकीकरण प्रक्रिया अन्तिम चरणमा र्पुयाएका छन्। एकीकरणको लागि हिजोको पूर्वएमाले वा माओवादीको आधारमा नभएर योग्यता, क्षमता, आवश्यकता, बरिष्ठता जस्ता आधारमा व्यक्तिहरुको नाम कमिटीमा सिफारिस गर्न सर्कुलर पठाइएको महासचिव बिष्णु पौडेलले बताए।

यसका साथै सम्बन्धित स्थानीय तहमा पूर्ववत् अवस्थामा कुन पार्टी जितेको थियो भन्ने कुरालाई पनि आधार बनाइएको नेकपाले जनाएको छ। 

प्रदेश नम्बर ७ का कमिटीहरुको एकीकरण गर्ने कार्यदलमा भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा र लक्ष्मी जोशी छन्। १८३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १०० र पूर्वमाओवादीबाट ८३ जना राखेर एकीकरण गर्ने सहमति भएको छ। 

प्रदेश ७ मा पूर्वएमालेले प्रमुख नेतृत्व पाउनेछ ।

प्रदेश ७ मा पूर्वएमालेले ६ र पूर्वमाओवादीले ३ जिल्लाको नेतृत्व पाउने गरी सहमति हुन लागेको छ । यद्यपि कार्यदलका सदस्य लक्ष्मी जोशीले २ जिल्लाको छलफल बाँकी रहेको बताए ।

स्रोतः onlinekhabar.com