बाँकेमा आगो लागेका छोराको मृत्यु, आमाको उपचार हुँदै

बाँकेमा आगो लागेका छोराको मृत्यु, आमाको उपचार हुँदै

बाँके । आगोमा जलेर गम्भीर घाइते भएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का बालक प्रिन्स विकको उपचारका क्रममा मृत्यु भएको छ।

आइतबार प्रिन्स  र उनकी आमा ३० वर्षीया गंगा विकलाई ३० वर्षीय बाबु भानुभक्त विकले आगो लगाएका थिए। आगोबाट गम्भीर घाइते भएका आमा-छोरालाई उपचारका लागि अस्पताल लगिएको थियो।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले उपचारका क्रममा बालक प्रिन्सको आइतबार राति १ बजेतिर मृत्यु भएको  जानकारी दिए।

गम्भीर घाइते गंगाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको घाँटी र ढाडमा आगोले पोलेको छ। आइतबार साँझ  भानुभक्तले श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए। घरायसी विवादका कारण श्रीमती र छोरालाई उनले आगो लगाएको अनुमान छ।

घटनापछि फरार रहेका भानुभक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ। भारततर्फ प्रवेश गर्ने प्रयासमा रहेका उनलाई जमुनाहा नाका नजिकैबाट पक्राउ गरिएको डिएसपी मल्लले जानकारी दिए।