हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित

हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा पहिलो पटक हाट तथा थोक बजार सञ्चालनमा आएपछि किसान उत्साहित भएका छन् ।

शिवशक्ति सामुदायिक वनको समन्वय र घोडाघोडी उद्योग वाणिज्य सङ्घको पहलमा हाटबजार सञ्चालनमा ल्याइएको हो । हप्तामा दुई पटक लाग्ने गरी शनिबारदेखि हाटबजार सञ्चालनमा आएको हो । 

घोडाघोडी नगरपालिका–१, सुखड बजारदेखि उत्तरपट्टि रहेको हेलिप्याड मैदानमा शनिबार १ सय ४३ किसानले उत्पादन गरेका तरकारी बेचबिखनका लागि राखेका थिए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले प्रत्येक हप्ताको शनिबार र मङ्गलबार हाटबजार लाग्ने व्यवस्था मिलाइएको बताउनुभयो । हाटबजार नहुँदा किसानले उत्पादन गरेको तरकारी टोकरीमा राखेर घरघरमा बेच्दै हिँड्नुपर्ने बाध्यता रहेको चर्चा गर्दै उहाँले हाटबजारले किसानलाई उत्पादन बेचबिखनमा सहज हुने बताए  । 

घोडाघोडी नगरपालिकाका विभिन्न वडामा किसानलाई व्यवसायी तरकारी उत्पादनमा जोड दिँदै नगरपालिका तथा सङ्घसंस्थाले कृषि सामग्री अनुदानलगायत बीउबिजनमा अनुदान दिँदै आए पनि उत्पादित वस्तु घरघरमा डुलाएर बेच्नुपर्ने बाध्यता थियो । 

पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाका अधिकृत प्रभु ढकालले हाटबजार सञ्चालनका लागि आफूहरूले समेत विगतदेखि नै समन्वय छलफल गर्दै आएको बताए । “हामीले किसानलाई उत्पादन गर्न समूह बनाएर विभिन्न सहयोग सामग्री दिएर सहयोग ग¥यौँ तर कहाँ लगेर बिक्री गर्ने भन्ने किसानलाई समस्या थियो, अब सजिलो हुने भयो,” ढकालले भने ।

बाहिरबाट तरकारी आयात घटाउनका लागि किसानले उत्पादन गरेका तरकारी हाटबजारमा खुद्रा तथा थोकमा बेच्ने व्यवस्था मिलाइएको हो । 

उद्योग वाणिज्य सङ्घका अध्यक्ष गौतमले भने, “स्थानीय व्यापारीसँग कुरा गरेका छौँ । हाटबजारमा बेचेर बचेको किसानको तरकारी स्थानीय व्यापारीले खरिद गर्छन् ।” 

हाटबजार सञ्चालनको पहिलो दिन आफ्नो उत्पादन राम्रै बिक्री भएको किसानको भनाइ छ । “घरमा फलाएको काउली, बन्दा, गोलभेँडा, साग, खुर्सानी बेच्न ल्याएको थिएँ । अलिकति बच्यो, अरू बिक्री भयो,” घोडाघोडी–१२, खोपाका रीता चौधरीले भने । उलले व्यावसायिक खेती नगरे पनि घरमा खाएर बचेको तरकारी हाटबजारमा बेच्न ल्याएको बताए ।