२४ घण्टा भित्र अरुणलाई रिहा नगरे आन्दोलनमा उत्रिने नागरिक उन्मुक्ति पार्टीको घोषणा

२४ घण्टा भित्र अरुणलाई रिहा नगरे आन्दोलनमा उत्रिने नागरिक उन्मुक्ति पार्टीको घोषणा

धनगढी । कैलालीमा केन्द्रीय कार्यालय रहेको नागरिक उन्मुक्ति पार्टीले सशक्त आन्दोलनमा उत्रिने घोषणा गरेको छ । पार्टीले बिहीबार पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी गर्दै  कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका अरुणकुमार चौधरीलाई रिहा नगरे सशक्त आन्दोलनमा उत्रिने घोषणा गरेको हो । 

पार्टीका प्रवक्ता दामोदर पण्डितले विज्ञप्ति बारे प्रष्ट पार्दै आफ्ना सांसदको मुद्दा बारे सरकार सँग पहिलै सहमति भइसकेको घटनालाई कोट्याइएको आरोप लगाएका छन् ।

विज्ञप्ति जारी गरिएको समय देखी २४ घण्टा भित्र आफ्ना सांसदलाई रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने बताउँदै आन्दोलनमा क्रममा हुने क्षतिको जिम्मेवारी समेत नलिने चेतावनी दिएका छन् । 

पण्डितले भने, "आन्दोलन गर्दा खेरी केही दुर्घटना हुन सक्छन् । आन्दोलन त आन्दोलन हो । हामी आन्दोलनको पक्षमा थिएनौ । तर सरकारले आन्दोलनमा जान बाध्य गराएको छ । आन्दोलनका क्रममा के-कस्तो हुन्छ भन्ने कुरा सरकारको हातमा छ । दमन गरे हामी प्रतिवाद गछौं । हामी पहिचानको आन्दोलनमा थियौ । जनतामाझ पनि सडक आन्दोलन गर्न सडकमा उतार्ने छैनौ, बोलाउने छैनौँ भन्दै बाचा गरेर भोट मागेका थियौँ । तर सरकारले पुराना सहमति भई सकेका मुद्दा उचालेर बाध्य गराउँदै छ । आन्दोलनको विकल्प छैन । विज्ञप्ति जारी भएको २४ घण्टा भित्र हाम्रा सांसद अरुण कुमार चौधरीलाई रिहाई नगरे हाम्रा आन्दोलनका कार्यक्रमहरू चरण बद्ध रूपमा सुरु हुने छन् । राज्यले विभेद गरेको कारणले आन्दोलनको क्रममा भएका घटना तथा क्षतिहरू प्रति हामी जिम्मेवारी हुँदैनौँ भन्ने सँग सम्बन्धित छ ।"

पत्रकार सम्मेलनका क्रममा जारी विज्ञप्तिमा सरकारलाई दिएको समर्थन बारे नखुलाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सांसद अरुण कुमार चौधरीलाई रिहा नगरेपछि समर्थन कसैलाई नरहने जनाएको छ । आफ्नो पार्टीको धारणा जानकारी गराउँदै प्रवक्ता पण्डितले भने, "सरकारलाई समर्थन गर्ने विषय सरकारले जान्ने हो । अहिले सम्म यो स्थिति भइसकेपछि सरकारलाई समर्थन गर्ने विषय त फेरी पार्टीले सोच्छ । अब सरकाले आन्दोलनमा जाने स्थितिमा पुर्‍याई सकेपछि यो घटना घटाइसकेपछि समर्थनको कुरा त असाध्यै गौण बनिसक्यो । रिहाई नगरेपछि कसैलाई समर्थन गरिँदैन । हुँदै नभएको विषयलाई किन उचालेर किन यस्तो गरिँदै छ ? सरकारलाई थाहा छ त सम्झौता भएको छ । देश भरीका पहिचान बादी साथीहरूलाई लिएर आन्दोलनमा उत्रिन्छौँ ।"

यस अघि, ट्याक्टरमा आगजनी मुद्दामा ९ वर्ष बढी समयदेखि फरार अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका संयुक्त प्रहरी टोलीले बाँकेको कोहलपुरस्थित बैजनाथपुरबाट पक्राउ गरेको हो। 

नागरिक उन्मुक्ति पार्टीबाट सांसदमा निर्वाचित अरुणकुमार चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरी फरार थिए। वि.सं.२०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र वीरबहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो।  

बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई कैलाली जिल्ला अदालत ल्याइने तयारी समेत थालेको छ ।  उनलाई आजै नेपालगन्जबाट कैलाली जिल्ला अदालत ल्याउन लागिएको जनाइएको छ ।

कैलालीको गोराङ्गा खोलाबाट ढुङ्गा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको थियो ।

६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुण कुमार चौधरी पैसा तिरेर छुट्न सक्ने कानुनी व्यवस्था रहेको छ । मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ । बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार मात्र अदालत लैजाने तयारी गरेको छ । 

सांसद चौधरीले ६ महिना कैद र ८ लाख ७५ हजार जरिवानाको एक तिहाइ जरिवाना तिर्नुपर्नेछ । तर कानुन अनुसार उनले जेल नबसी पनि सजाय भुक्तान गर्न सक्नेछन् । महान्यायाधिवक्ता कार्यालयका अनुसार कसूर गरेको तरिका, आचरण लगायतका पक्ष विचार गरी अदालतले रकम लिएर पनि छाड्न सक्नेछ । यसरी छुट्दा उनले दिनको ३०० रुपैयाँका दरले रकम तिर्नुपर्ने छ ।