७ नम्बर प्रदेश सरकारले विजनेस दिन नसकेपछि मंगलबारको संसद् बैठक स्थगित

७ नम्बर प्रदेश सरकारले विजनेस दिन नसकेपछि मंगलबारको संसद् बैठक स्थगित

धनगढीः प्रदेश ७ को आज बस्ने भनिएको प्रदेश सभा बैकठ स्थगित भएको छ। प्रदेश सभा सचिवालयले सूचना टाँसेर विशेष कारण भदौ ६ गते सम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको जनाएको छ।

तर सूचनामा विशेष कारणले स्थगित गरिएको भनिए पनि के कारणले स्थगित भएको भन्ने विषय खुलेको छैन।

प्रदेश सभा सचिवालय स्रोतका अनुसार आजको प्रदेश सभा बैठकले छलफलका लागि विशेष विषय नपाएपछि बैठक स्थगित भएको हो। आजको प्रदेश सभा बैठकमा प्रदेश सरकारको लगाउने गैर कर तथा कर उठाउने र लगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विद्येक माथि छलफलको कार्यक्रम थियो।

यस्तै मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

सचिवालयका एक जना कर्मचारीका अनुसार यो विधेक कानुन मन्त्रालय भयर संसद् सचिवालयमा दर्ता भएको छ। विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रीले संसदमा पेस गर्नु पर्ने हुन्छ। कानुन मन्त्री प्रकाश साह मंगलबार धनगढी बाहिर रहेकोले यो विधेयक संसदमा प्रस्तुत नहुने भएपछि मंगलबारकाे संसद् बैठक स्थगित भएको हाे।

'कानुन मन्त्रालयमार्फत मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएकाे छ,' ती कर्मचारीले भने, 'कानुन मन्त्रीले नै विधेयक संसदमा टेबुल गर्नु पर्ने स्थिति हुन्छ। कानुन मन्त्री बाहिर जानुभएकाे सुचना अाएकाे छ। संसद बैठक सर्नुकाे प्रमुख कारण पनि यही हाे।'

उनका अनुसार सचिवालयमा बिधेयक दर्ता भए अनुसारकाे मन्त्री संसदमा उपस्थित हुन नसक्ने अवस्था अाए तत्काल मुख्यमन्त्रीले अर्को मन्त्रीलाई टेबुल गर्न सचिवालयलाइ पत्र दिनु पर्ने कानुनी व्यवस्था छ। तर मुख्यमन्त्री पनि केही दिन देखि काठमाडौँमा छन्।

यता सभामुख अर्जुन थापा पनि एक गोष्टिमा भाग लिन काठमाडौँ जाने तयारीमा छन्। संघीय सरकारको सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रदेश सभाका सभामुखहरूको गोष्ठीमा सहभागी हुन सभामुख अर्जुन थापा ३१ गते काठमाडौँ जान लागेको प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले जानकारी दिए।  

गोष्ठी २, ३ र ४ गते सम्म काठमाडौँमा चल्ने छ। आजको बैठकमा छलफलका लागि खासै विषय नभएकोले भदौ ६ गते एकै पटक ३÷४ विधेयकमा छलफल गर्ने गरी बैठक स्थगित भएको सचिव शर्माले बताए।

यता नेकपामा प्रदेश र जिल्ला कमिटीको भागबण्डाको तारी भइरहेकोले पनि बैठकमा प्रभाव पारेको बताइएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबिच प्रदेश र जिल्ला कमिटीको भागबण्डाका क्रममा केही नेताहरू धनगढी बाहिर रहेकोले बैठकमा प्रभाव परेको समेत बुझिएको छ।