नेकपा एस र स्वतन्त्रलाई समेटेर सरकार बनाउने तयारीमा मुख्यमन्त्री शाह

नेकपा एस र स्वतन्त्रलाई समेटेर सरकार बनाउने तयारीमा मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियूक्त मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा एकीकृत समाजवादी र स्वतन्त्रलाई सरकारमा समावेश गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

शुक्रबार साढे ३ बजे पद तथा गोपनियताको सपथ लिन लागेका मुख्यमन्त्री शाहले नेकपा एसका प्रदेश सभा सदस्य र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीलाई मन्त्री बनाएर सरकारमा लिने तयारी गरेका हुन् ।
प्रदेश सभाबाट बहुमत प्राप्त नभएपछि राजेन्द्र रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । बिहिबार नियूक्त भएका शाहले एस र स्वतन्त्र प्रदेश सभा सदस्यलाई शुक्रबार मन्त्रीमा नियूक्त गर्ने भएका हुन् ।

संविधानको धारा १६८ उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियूक्त शाहले नेकपा माओवादी केन्द्रलाई पनि सरकारमा लग्ने गरि गृहकार्य गरिरहेको छ । प्रदेश सभा सदस्य प्रकाश बमले भने –‘नेकपा एस र स्वतन्त्र प्रदेश सभा सदस्यहरुलाई सरकारमा समावेश गरिन्छ । विस्तारै नेकपा माओवादी केन्द्रसंग पनि छलफल तथा वार्ता हुन्छ ।’

मुख्यमन्त्रीमा नियूक्त शाहले आफुलाई विश्वासको मत पाउन कठिन नरहेको बताए । उनले भने –‘मलाई विश्वासको मत पाउन कठिन छैन् । छिट्टै विश्वासको मत पाउँछु ।’ उनले अघिल्लो मुख्यमन्त्री भन्दा सबैले आफुलाई विश्वास गर्ने बताए । उनको संकेत नेकपा माओवादी केन्द्रले आफुलाई समर्थन गर्ने थियो । 
नेकपा माओवादी केन्द्रको समर्थन पाएमा उनको पक्षमा ३४ प्रदेश सभा सदस्य हुन्छन् । यद्यपी नेकपा माओवादी केन्द्रले अहिलेनै समर्थन गर्ने वा नगर्नेबारे निर्णय लिएको छैन् । शाह भन्छन् –‘नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुसंग छुट्टा–छुट्टै छलफल गर्दा सकारात्मक छन् । यद्यपी दलको निर्णय आउन नसकेकोले समर्थन गर्ने वा नगर्नेबारे भन्न सक्दैन् ।’ नेकपा माओवादी केन्द्रले पनि प्रदेश सरकारलाई अस्थिरतातर्फ धकेल्न नचाहेको उनको प्रतिक्रिया रहेको छ ।

प्रदेशमा नेपाली काँग्रेसका १९, नेकपा एसका ४ र एक स्वतन्त्र प्रदेश सभा सदस्य गरि २४ जना रहेका छन् । यो संख्याका आधारमा मुख्यमन्त्री शाहलाई बहुमत पाउन सक्ने सम्भावना छैन् । 

सत्तागठबन्ध दलभित्रकै साथ र सहयोग लिएमा उनलाई बहुमत पाउन समस्या छैन् । सत्तागठबन्धन दलमा नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ गरि २९ प्रदेश सभा सदस्य रहेका छन् । नागरिक उन्मुक्ति पार्टीको सहयोग नपाउँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेका थिएनन् ।