शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको स्थापना प्रक्रिया अगाडी बढिसक्यो : प्रधानमन्त्री दाहाल

शहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको स्थापना प्रक्रिया अगाडी बढिसक्यो : प्रधानमन्त्री दाहाल

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडी बढीसकेको बताएका छन् । सोमबार सो क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्बाबाट निर्णय गरेसंगै विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडी बढिसकेको बताएका हुन् ।

‘यसलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय हिजो नै क्याविनेट बैठक राखेर सैद्धान्तिक निर्णय भएको छ’ उनले भने ‘अब व्यवहारीक रुपमा यसलाई मेडिकल कलेज चलाउने तिर पनि तिब्र गतिमा अगाडी जान्छ । विश्वविद्यालय स्थापना प्रक्रिया पनि अगाडी बढीसकेको छ ।’ उनले यस क्षेत्रका सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विज्ञलगायत संग छलफल गरेर विश्वविद्यालय बनाउने निर्णय भएको बताए ।

‘सबैभन्दा खुसीको कुरा के हो भने यो पटक मेडिकल कलेज मात्रै होइन् । यसलाई हिजो मात्रै प्रदेशका सबै जसो जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि डाक्टर, विज्ञहरु संग छलफल गर्दा वहाँहरुको माग यसलाई गेटा मेडिकल कलेजको रुपमा त चलाउनु नै छ । संगसंगै देशकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा लैजानु प¥यो भन्ने थियो’ उनले भने ‘यसलाई विश्वविद्यालय बनाउने खुसी र गर्वको कुरा हो । यो सुदूरपश्चिमको मात्रै होइन यो देशकै देशकै निम्ति गर्वको कुरा हो ।’

उनले गेटामा मेडिकल कलेज स्थापना गर्ने क्रम देखि नै आफू यससंग प्रत्यक्ष रुपमा जोडिएको बताए । ‘पहिला मेडिकल कलेज स्थापना गर्ने क्रममा पनि म प्रत्यक्ष रुपमा जोडिएको थिए । यसको बेस बन्दा गर्दा पनि मैले यसको अनुगमन गरेको थिए’ उनले भने ‘यसपटक फेरी अनुगमनमा आउँदै गर्दा मेडिकल कलेज चलाउने प्रक्रियात अब अगाडी बढ्यो नै । यसलाई अगाडी बढाउन स्वास्थ्य संग सम्बन्धित दरबन्दिका काम छिटै पुरा गरिन्छ ।’

उनले आफुले प्रदेश स्तरमा विकास आयोजनाहरुको अनुगमन गर्ने सुदूरपश्चिमबाटै सुरु गरेको बताए । ‘मलाई सुदूरपश्चिममा पहिलो चोटि प्रधानमन्त्री हुँदा पनि केही काम गर्ने र सबभन्दा धेरै पटक सुदूरपश्चिममै आएर अवलोकन पनि गरेको थिए’ उनले भने ‘यसपटक पनि प्रदेश स्तरमा विकास आयोजनाहरुको अनुगमन गर्ने सुदूरपश्चिमबाटै भएको छ ।’

सरकारले आइतबार प्रस्तावित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । लामो समय देखि यसको मोडालिटीका बारेमा टुङ्गो नलाग्दा १ बर्ष अगाडी नै मेडिकलका लागि आवश्यक संरचना निर्माण गरिदा पनि संचालनमा आउन सकेको थिए । गेटामा २०७४ सालदेखि भौतिक संरचना निर्माणको काम सुरु भएको थियो ।