धनगढीमा सूचना प्रविधि मेला २०७९ आयोजना हुने

धनगढीमा सूचना प्रविधि मेला २०७९ आयोजना हुने

धनगढी । कैलालीको धनगढीमा सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०७९ हुने भएको छ । 
कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ गते देखि २० गतेसम्म प्रदर्शनी सञ्चालन हुने भएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

प्रदर्शनीको यो दोस्रो संस्करण हो । धनगढीमा २०७२ सालमा ओम प्यालेसमा प्रथम प्रदर्शनी शुरु भएको थियो । दोस्रो संस्करण सन २०२० मा सञ्चालन गर्ने भएपनि कोभिड महामारीका कारण हुन सकेको थिएन । आयोजक एसोसियनसनका अध्यक्ष यज्ञराज ओझाले दोस्रो संस्करण २०२० मै सञ्चालन गर्ने भनिएपनि कोभिड महामारीका कारण गर्न नसकिएको बताए । 

सात बर्षपछि सञ्चालन हुन लागेको मेलालाई प्रविधिका सामाग्री खरिद विक्रीभन्दा पनि सूचना, जानकारी तथा प्रविधिको विकासमा जोड दिइने छ । मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साईबर सेक्युरेटि सम्बन्धी जानकारी दिइने मुल आयोजक समितिका संयोजक नरेन्द्रसिंह धामीले बताए ।

इन्फोटेक मेला मुल संयोजक नरेशसिंह धामीका अनुसार देश विदेशमा भित्रिएका नविनतम प्रबिधिको बारेमा मेलामा जानकारी दिइने छ । त्यसैगरी सवै प्रकारका प्रबिधिहरुको एउटै ठाउँमा प्रदर्शनी गरिने छ । यसका साथै प्राबिधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमीनारको पनि आयोजना गरिने छ ।
‘पछिल्लो समय सामाजिक सञ्चालनदेखि सरकारी वेभ सर्भरमा साईबर आक्रमण हुन थालेको छ,’ धामीले भने, ‘त्यसबाट कसरी बच्ने र सुरक्षाका उपाय कसरी अपनाउने भन्ने बारेमा सूचना प्रबिधि मेलामा जानकारी गराइने छ ।’

प्रबिधिको प्रयोगसंगै बालबालिकाहरु मोबाइल तथा कम्यूटरमा बढी समय व्यतित गर्ने गरेको अवस्थामा उनीहरुलाई गलत बाटोमा जानबाट कसरी रोक्ने भन्ने बारेमा पनि मेलामा जानकारी गराइने इन्फोटेक २०२३ का निर्देशक टेकराज पनेरुले बताए । ‘अहिले बालबालिकाले धेरै समय मोबाइल र कम्प्यूटरमा विताउने गरेका छन्,’ उनले भने, ‘बालबालिकाले त्यसमा कस्ता साईट हेर्ने गरेका छन् भनेर कसरी पत्ता लगाउन भन्ने बारेमा पनि मेलामा जानकारी गराइने छ, ती साईट कसरी हटाउने भन्ने बारेमा पनि जानकारी गराइने छ, त्यसैले इन्फोटेक २०२३ सवै नागरिकका लागि महत्वपुर्ण हुने छ ।’

कार्यक्रममा नेपाल टेलिकम धनगढीका प्रमुख बलराम जोशीले प्रबिधिको प्रयोगसंगै नागरिको दैनिकी पनि प्रबिधिमा निर्भर हुने गरेको बताए । तर प्रबिधिको बढ्दो प्रयोगसंगै त्यसमा केही बिकृति देखा परेको भन्दै उनले त्यसबाट कसरी बच्ने भन्ने बारेमा जानकारी पाउनु सवैका लागि अपरिहार्य रहेको बताए । उनले सूचना प्रबिधिलाई लक्षित गरेर सञ्चालन हुने हरेक क्रियाकलापमा नेपाल टेलिकमले सघाउने गरेको बताए ।
कम्प्यूटर एशोशियसन नेपाल महाँसंघका उपाध्यक्ष हर्क सेठ्ठीले मेला समान बेच्नका लागि मात्र नभई सूचना प्रबिधिका बारेमा धेरै जानकारी पाउने स्थान हुने बताए ।

उनले उद्योगी र शिक्षाको सम्बन्ध कसरी जोड्ने भन्नेबारेमा पनि मेलामा जानकारी गराइने बताए । उद्योग सञ्चालन गर्दा अझै पनि प्राबिधिक जनशक्तिको कमि रहेको भन्दै उनले मेलाले त्यो समस्या कसरी समाधान गर्ने भन्ने बारेमा पनि छलफल हुने बताए ।

क्यानका प्रदेश अध्यक्ष धनबहादुर बोगटीले चुनौति धेरै भएपनि आँट गरेर मेला सञ्चालनको तयारीमा जुटेको बताए । उनले मेला सफल बनाउन सवैको सकारात्मक सहयोगको अपेक्षा रहेको बताए । क्यानले काठमाण्डौं पछि धनगढीमा मेला सञ्चालन गर्ने तयारी गरेको बताउँदै उनले धनगढी पछि देशका अन्य प्रदेशमा पनि मेला आयोजना गर्ने योजना रहेको बताए ।

मेलामा विद्यार्थीले उत्पादन गर्ने प्राबिधिक सामग्रीको पनि प्रदर्शनी हुने उनले बताए ।