हलमा ‘मनसँग मन’को विजोग, क्यूएफएक्स चेनबाट उत्रियो

हलमा ‘मनसँग मन’को विजोग, क्यूएफएक्स चेनबाट उत्रियो

गत कात्तिकपछि नेपाली फिल्मको बजारमा खडेरी लागेको छ । यो बीचमा बलियो स्टारकास्ट भएका केही फिल्म प्रदर्शनमा आए पनि न गतिलो प्रतिक्रिया पाए न कमाईमा उछाल ल्याए । कात्तिकदेखि माघसम्म मात्र १० करोड बढी पानीमा मिलेको छ । माघ २० गतेबाट प्रदर्शित फिल्म ‘ह्यारी कि प्यारी’को व्यापार भने केही सुखद छ, तर लगानीको एक तिहाई पनि उठाउन असम्भव छ ।

नेपाली फिल्मको व्यापारमा देखिएको खडेरीलाई माघ २७ गतेबाट प्रदर्शन भएको पुष्प खड्का र वर्षा सिवाकोटी अभिनीत फिल्म ‘मनसँग मन’ले पनि चिर्न सकेन । हुन त यो फिल्म हलमा प्रदर्शनका लागि योग्य नै थिएन । न कथावस्तु बलियो न कलाकारको अभिनय हेर्नलायक छ । र, व्यापार पनि सुनाउन लायक बन्न सकेन । फिल्मले पोस्टर छपाईको पैसा समेत नउठाउने पक्का छ ।

हलमा ‘मनसँग मन’को कुन हदसम्म विजोग छ भन्ने कुरा देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ५ दिनमै फिल्मलाई उतार्नुले पनि पुष्टि गर्छ । बरु, क्यूएफएक्स चेनले दोस्रो हप्तामा पनि ‘ह्यारी कि प्यारी’लाई सुखद शो दिएर टिकाइराखेको छ । ‘मनसँग मन’ अरु धेरै हलहरुबाट पनि दर्शकको चर्को खडेरीका कारण उत्रिसकेको छ । केही हलमा भने बिहीबारसम्म जेनतेन टिक्ने देखिन्छ ।

यो फिल्मको असफलतासँगै पुष्पले यसै वर्ष फ्लपमा ह्याट्रिक गरेका छन् । भदौमा प्रदर्शन भएको ‘कृष्ण लीला’ र पुषमा प्रदर्शित ‘तिम्रो मेरो साथ’ पनि डिजास्टर बनेका थिए । लगालग तीनवटा फिल्म असफल हुँदा उनको करिअर संकटमा परेको छ । त्यस्तै, वर्षाको ‘मनसँग मन’ यस वर्षको दोस्रो फ्लप फिल्म हो । बैशाखमा रिलिज भएको उनको ‘लक्का जवान’ पनि फ्लप भएको थियो ।