दिनेश राउतको लभस्टोरी फिल्ममा स्वप्न सुमनसँग जोडी बाँध्दै गायिका दीक्षिता कार्की

दिनेश राउतको लभस्टोरी फिल्ममा स्वप्न सुमनसँग जोडी बाँध्दै गायिका दीक्षिता कार्की

काठमाडौं । निर्देशक दिनेश राउतले आगामी म्युजिकल लभस्टोरी फिल्मको नायिकामा पछिल्लो पुस्तामाझ चर्चित गायिका दीक्षिता कार्कीलाई अनुबन्धित गरेका छन् ।

शीर्षक तय भइनसकेको फिल्ममा उनले गायकसमेत रहेका स्वप्न सुमनसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । संगीतकार चेतन कार्कीकी छोरी उनी युट्युबलगायत प्लेटफर्ममा इन्डिपेन्डेन्ट गायिकाको रुपमा चर्चित छन् । टिनएजर्सलाई लक्षित गर्दै उनले गीत रिलिज गर्ने गरेकी छन् ।

यी दुई ननएक्टरलाई लिएर निर्देशक राउतले अभिनयको कार्यशाला चलाइरहेका छन् । जीवन थापा निर्माता रहेको फिल्मलाई उपकरण क्षेत्रसँग सम्बन्धित कम्पनी मल्टी मेटको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

निर्देशक राउतले बिहीबार शीर्ष कलाकारलाई लिएर तस्वीर सार्वजनिक गरेका छन् । प्रकाश फेम्ड निर्देशक राउतको यो फिल्मले सहरी मानिसको आदर्श र ढोंगीपनबारेको कथा भन्छ । विकास सुवेदीले फिल्म लेखिरहेका छन् ।


वैशाखदेखि छायांकन सुरु हुने तयारी गरिएको यो फिल्मपछि निर्देशक राउत शहीद गंगालाल श्रेष्ठबारेको फिल्म निर्देशनको तयारीमा छन् ।