मध्यपूर्वका ५० बढी हलमा नेपाली फिल्म रिलिज गर्ने सहमति, एनआरएनएले पनि सघाउने

मध्यपूर्वका ५० बढी हलमा नेपाली फिल्म रिलिज गर्ने सहमति, एनआरएनएले पनि सघाउने

काठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणको लागि खुसीको खबर छ । अबदेखि नेपाली फिल्म मध्यपूर्वका देशका ५० भन्दा बढी हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र विकास बोर्डले यूएईको दुबईमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनमा वितरक रमेश ढकाल र बोर्ड अध्यक्ष भुवन केसीबीच लिखित सहमति भएको छ ।

कार्यक्रममा यूएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल, गैरआवासीय नेपाली संघ, अध्यक्ष कुल आचार्यको पनि उपस्थिति थियो । सम्झौताअनुसार नेपालसँगै फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज हुनेछ ।

‘मध्यपूर्वदेखि नेपाली फिल्मको औपचारिक रुपमा अन्तर्राष्ट्रियकरण सुरु भयो । सरकारको तर्फबाट बोर्ड र वितरकको तर्फबाट ढकालजीको कम्पनीबीच सहकार्य गर्न पाउँदा निकै खुसी छौं,’ सम्झौतापछि अनलाइनखबरसँग बोर्ड अध्यक्ष केसीले भने । वितरक ढकालले पनि नेपाली फिल्मलाई ५० भन्दा बढी पर्दामा रिलिज गर्न पाउनु उद्योगको लागि खुसीको कुरा भएको बताए ।

ढकालले लामो समयदेखि व्यक्तिगत पहलमा यूएईमा फिल्म वितरण गर्दै आइरहेका छन् । मध्यपूर्वका यूएईसहित कतार, साउदी, बहराइन, कुवेतलगायत मुलुकका एनआरएनसँग सहकार्य गर्दै ढकालले नेपाली फिल्मलाई नियमित रिलिज गर्नेछन् । दुबईको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा आयोजित समारोहमा ढकाललाई सम्मान समेत गरिएको थियो । उनकाअनुसार मध्यपूर्वमा एउटा फिल्म रिलिज गर्न १० लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ । मध्यपूर्वमा मात्र १५ लाख नेपालीको बसोबास रहेको तथ्यांक छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने दायित्व आफूहरुको समेत रहेको बताए । संसारका फिल्म निर्मातासँग सहकार्य गर्ने आफूहरुको योजना रहेको सुनाउँदै उनले यो सहकार्य दुबईबाट सुरु भएको समेत आचार्यले बताए । सूर्य कर्पोरेसनको व्यवस्थापन र एनआरएनएसँगको सहकार्यमा बोर्डले यसै साता चारदिने फेस्टिभल आयोजना गरेको थियो ।