एसईईको प्रश्नपत्र छपाइ शुरू

एसईईको प्रश्नपत्र छपाइ शुरू

काठमाडौं । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो । त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो ।

नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाइ शुरू भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले करिब ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिनुभएको छ । सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन् । भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् । केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् ।

प्रश्नपत्र छपाइको तयारीका लागि शुक्रबार बैठक भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको अध्यक्षतामा बसेको बैठकले प्रश्नपत्र छपाइ गर्ने निर्णय गरेको थियो ।

यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भइरहेको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभगी हुनेछन् । ती विद्यार्थीका लागि सातवटै प्रदेशमा फरकफरक सेटमा प्रश्नपत्र छपाइ हुनेछ छ ।

प्रवक्ता आचार्यले २५ दिनमा सक्ने गरी छपाइ शुरू भएको बताउनुभयो । उहाँका अनुसार छपाइ भइसकेको प्रश्नपत्र सम्बन्धित केन्द्रमा पु¥याउनसमेत गरी करिब १ महिना लाग्नेछ । बोर्डले प्रदेशअनुसार फरकफरक सेटको प्रश्नपत्र छपाइ गर्ने जनाएको छ । बोर्डले फागुन मसान्तभित्र प्रश्नपत्र ढुवानी शुरू गर्नेछ ।

बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाउनेछ । हरेक विषयको फरकफरक सेट प्रश्नपत्र छपाइ गर्नेछ । यस वर्ष ११ हजार ८ सय २९ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षामा साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ ।

प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा सबैभन्दा बढी वागमती प्रदेशमा विद्यार्थी रहेका छन् । वागमतीमा १ लाख ७ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । सबैभन्दा कम कर्णालीमा ४१ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

परीक्षामा साधारणतर्फ ६ र प्राविधिक धारतर्फ ६ अनिवार्य विषय छन् । ऐच्छिक पहिलोमा २४ र दोस्रोमा २३ विषय समावेश छन् । यो वर्षको परीक्षामा सबैभन्दा कम मनाङमा ५३ विद्यार्थीले परीक्षा दिँदै छन् । काठमाडौंका ३६ हजार विद्यार्थी छन् ।

यस वर्षको परीक्षा आगामी चैत १७ देखि गतेबाट २९ गतेसम्म सञ्चालन हुँदै छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

१९ गते अनिवार्य गणित, २० गते अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी (इलेक्टिभ अङ्ग्रेजी), २२ गते अनिवार्य विज्ञान, वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद, २३ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । २४ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषाको परीक्षा हुनेछ । परीक्षा चैत २९ गते सकिने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेबाट शुरू हुनेछ ।