कञ्चनपुरका किसानलाई उखु तौल्न सडकमै बास, लामो लाईनमा बस्दा झन्जट

कञ्चनपुरका किसानलाई उखु तौल्न सडकमै बास, लामो लाईनमा बस्दा झन्जट

कञ्चनपुर। कञ्चनपुरका उखु किसानलाई काटेको उखु तौल्न निकै समस्या भएको छ। उखु काटेर ढुवानी गरेर मिलमा लामो लाईनमा बस्नुपर्दा निकै समस्या भएको उनीहरुले गुनासो गरेका हुन्। कञ्चनपुरका किसानहरु मिलमा उखु तौल्नका लागी लामबद्ध लाईमा बस्नु परेको छ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासमा दुई वटा मात्रै चिनी मिल भएकाले उखु तौलन र राख्न समस्या भएको किसानहरुले बताएका छन् । मिल आसपास उखु बोकेका ट्रयाक्टरदेखि गोरुगाडा र राँगा गाडाको लामो लाइनमा किसानहरु बसेर ओडने ओछ्याउनेदेखि खाट बोकेर राखेका छन्। एक ट्रली उखु तौलिन चार दिन सडकमा रात बिताएको कञ्चनपुरको बेलडाडी गाउँपालिका–५ झिलमिलाका दीपेन्द्र रानाले बताए।

मंसिरदेखि उखु काटेर चिनी मिल पु¥याउन थालेका उनलेअहिलेसम्म १० ट्रली मात्रै ढुवानी गरेका छन्। उनले उखु काट्ने र ढुवानी गरेर ल्याउनुभन्दा मिलमा लाइन कुर्न निकै समस्या हुने गरेको बताए । चिसोमा रातभरि ट्रलीमै सुत्नुपर्ने र उखु तौल्ने पालो पाउनै गाह्रो हुने भएकाले उखु खेती गर्नुभन्दा बढी दुख तौलिने काममा भएको उनको भनाई छ। मंसिरदेखि चैत अन्तिमसम्मै किसानहरू उखु काट्ने, ढुवानी गर्ने र मिलमा तौलिने काममा व्यस्त हुने गरेका छन्। भने अहिले नै किसानहरू उखु लगाउने काममा पनि जुट्ने गरेको भएकाले किसानलाई अहिले भ्याईनभ्याई भैरहेको बेलडाडी गाउँपालिका ३ वैवाहका लक्ष्मण चौधरीले बताए।

उखु तौलनकालागी पहिला पुर्जी काट्न समस्या र पुर्जी पाइएपछि उखु मिलसम्म ढुवानी र त्यसपछि मात्रै तौलिने समय पाउनै मुस्किल हुनेगरेको बताए। उनले आफुले तीन विघामा उखु खेती गरेको बताउँदै हालसम्म डेढ बिघाको उखु बिक्री भइसकेकोले आधा बाँकी नै रहेको बताए । फागुन अन्तिमसम्म सबै बिक्री गरिसक्ने उनको भनाई छ। कतीपय स्थानियले चिनी मिलमा सीमावर्ती क्षेत्रबाट समेत अवैध रूपमा उखु आयात हुने भएकाले तौलिन बढी समय लाग्ने गरेकोबताएका छन् ।रातिको समयमा भारतबाट अवैध रूपमा उखु आउने गरेको उनीहरुले बताएका छन्। रातीको समयमा भारतबाटै धेरै उखु आउनेबित्तिकै तौल्ने तर स्थानिय स्तरको उख तौल्न तीन चार दिन कुर्नुपर्ने बताएका छन्।

बेलौरी नगरपालिका १० भुडामा महाकाली सुगर मिल र पुनर्वास नगरपालिकामा भागेश्वर सुगर मिलले एक सिजनमा २५र२५ लाख क्विन्टल उखु पेल्दै आएका छन । मिल सञ्चालकहरू आवश्यकताअनुसार उखु नपाइने बताउँदै आएका छन् । तर उनीहरू भारतबाट आयात नगरिएको बताउँछन् । महाकाली सुगर मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले भारतबाट उन्नत जातको बीउ मात्रै ल्याउँने र मिलमा पेल्नका लागि उखु नआउने गरेको बताए । यस्तै उखु नपुगेर मंसिरदेखि मिल सञ्चालनमा आएर फागुनमा बन्द हुने गरेको बताए। यस वर्ष उखुको मुल्य ७० रुपैयाँ ढुवानी अनुदानसहित ६ सय १० रुपैयाँ प्रतिक्विटल पुगेको छ । उनले पुर्जी वितरण गरिएको भन्दा बढी एकै दिन पाँच, सात सय गाडी उखु आउँदा तौलिन समस्या हुन थालेको बताए।

उनले एक दिन मात्रै २५० गाडी उखु पेलीने गरेको बताए। नेपालसँगै सीमा जोडिएको भारतीय क्षेत्रमा पनि उखु खेती गरिन्छ । तर भारतमा जग्गाधनी पुर्जा भएको उखु मात्रै खरिद हुने भएकाले जग्गाधनी पुर्जा नभएका कृषकहरूले अवैध रुपमा नेपालतर्फ ल्याउने गरेको स्थानीयहरुले बताएका छन्।सुगर मिलहरूले पनि अनुदान रकम पाउनका लागी लागी ठूलो मात्रामा भारतबाट उखु मगाउने उनीहरुले आरोप लगाएका छन् ।कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा साढे ६ हजार हेक्टरमा उखु खेती गरिदै आएको छ। यहाँ उखुको उत्पादकत्व प्रतिहेक्टर ८० मेट्रिक टन छ । भारतबाट अवैध रुपमा उखु आयात हुने गरेको उखु उत्पादक हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन राइले बताएका छन्। उनले भारतबाट उखु आउने कुरा जानकारीमा आएको समेत बताए।