मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मकवानपुर ।  मकवानपुरको बकैयामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बकैया गाउँपालिका वडा नम्बर–५ पावसका ५० वर्षका जनकलाल माझीको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार गए राति बाख्रा ब्याएपछि गोठमा जाने क्रममा माझीलाई बाटोमै हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट बेहोस भएका माझीको उपचार गर्न हेटौँडा ल्याइएकोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसअघि त्यही हात्तीले मनहरीमा एक महिलाको ज्यान लिएको थियो भने हेटौँडा उपमहानगरपालिका–१८ मा एक पुरुषलाई घाइते बनाएको थियो ।मकवानपुरमा जङ्गली हात्तीले उग्र रूप लिँदै जाँदा स्थानीय त्रसित बनेका छन् ।