लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन सुरु

लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन सुरु

धनगढी । लोक सेवा आयोगहरुको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार देखि शुरु भएको छ । ‘योग्यता, निष्पक्षता र स्वच्छताः लोक सेवा आयोगको प्रतिवद्धता’ भन्ने नारासहित केन्द्रीय लोक सेवा आयोगको आयोजनामा धनगढीमा सम्मेलन शुरु भएको हो ।

सम्मेलनको समुद्घाटन गर्दै आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले प्रदेशमा गठन भएका लोक सेवा आयोगले सावधानी र स्तरिय काम कारबाहीमा ध्यान दिनुपर्ने बताए । उनले प्रदेश र केन्द्रबिच समन्वयात्मक रुपमा काम हुनुपर्ने बताए । उनले अहिले प्रदेशलेनै ११ औं तहसम्मका कर्मचारीको बढुवा सिफारिस गर्ने प्रवृतिले जोखिम निम्त्याउन सक्ने बताए । उनले भने –‘प्रदेशले आफुखुशी ११ औं तहका कर्मचारी बढुवा सिफारिस गरिरहेको देखियो । यसले गर्दा प्रदेशमा बढुवा भएका संघको सचिवमा दाबी गर्न सकिने देखियो । प्रदेश लोक सेवा आयोगले बढी सावधानीपूर्वक काम गर्नुपर्ने देखियो ।’
उनले कुनै पनि पदमा विज्ञापन गर्दा सबै प्रदेशले एकै पटक गर्नुपर्ने सुझाव दिए । ‘अहिले एक प्रदेशले कुनै कल्स्टरमा विज्ञापन खोलेको छ भने अन्य प्रदेशका बासिन्दाले पनि आवेदन दिईरहेका छन्’ उनले भने –‘अर्को प्रदेशबाट आवेदन दिएको मान्छे छनौट हुन्छ । प्रदेशमा हाजिर लगाउँछ पछि केही दिनमै आफनो प्रदेशमा सरुवा लिन्छन् ।’ उनले सो प्रवृतिले कुनै प्रदेशमा कर्मचारी पदपूर्ति हुने तथा कुनै प्रदेशमा खाली रहने जोखिम बढाएको बताउँदै भने –‘प्रदेशमा आवश्यक कर्मचारी पदपूर्ति गर्नु छ भने सबै प्रदेशले एकैचोटी विज्ञापन खोलौं । यसो गर्दा प्रदेशका मानिसले अर्को प्रदेशमा आवेदन दिदैन ।’

उनले लोकसेवा आयोगलाई कर्मचारी भर्ना गर्ने संयन्त्रमात्र नबनाउन अनुरोध गरे । उनले भने –‘केन्द्रले प्रदेश लोक सेवा आयोगसंग समन्वय गर्ने हो । प्रदेशलाई आवश्यक दक्ष विज्ञ, प्रश्नपत्र निर्माण, आवश्यक उत्तरपुस्तिका तयारी लगायतमा केन्द्रले समन्वय गर्न सक्छ । तर, स्रोत साधन, जनशक्ति व्यवस्थापनमा केन्द्र गुहार्ने काम नगर्नुहोस ।’

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले संघिय संरचना अनुसार प्रदेश सरकार गठन भएको पाँच वर्ष पुरा भईसक्दा समेत प्रदेशका मन्त्रालयमा जनशक्ति व्यवस्थापन हुन नसकेको बताए । उनले प्रदेशमा अझै ३६ प्रतिशत जनशक्ति रित्त रहेको बताए । उनले भने –‘जनशक्ति व्यवस्थापनका लागि दबाब दिदा समेत सुनुवाई भईरहेको छैन् । ६४ प्रतिशत जनशक्तिको भरमा प्रदेशका मन्त्रालयहरुले सेवा प्रवाह गर्नुपर्ने बाँध्यता रहेको छ । हामी यो कुरा भन्दा भन्दा थाकी सक्यौं ।’ उनले प्रदेश सरकारले प्रदेश लोक सेवा र पदपूर्तिलाई प्राथमिकतामा राखेर अघि बढेको बताए ।
सम्मेलनमा आयोगका सदस्य, सात वटै प्रदेशका अध्यक्ष, सचिव लगायतको सहभागिता रहेको छ । सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा केन्द्र र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने र नयाँ योजनाबारे छलफल गरेर निचोड निकालिने लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । सम्मेलनका उपलब्धि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले बताए ।

यसअघि लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन २०७७ सालमा फागुन २३ र २४ गते काभ्रेको धुलिखेलमा तथा दोस्रो राष्ट्रिय सम्मेलन २०७८ फागुन २३ र २४ गते रुपन्देहीको भैरहवामा आयोजना गरेको थियो ।