प्रशासनको निर्णय बेवास्ता गर्दै जिप व्यवसायी

प्रशासनको निर्णय बेवास्ता गर्दै जिप व्यवसायी

बझाङ प्रमुख जिल्ला अधिकारीको रोहबरमा केही महिनाअघि जिल्लाभित्र चल्ने सवारीसाधनको भाडादर तोकेता पनि अझै उक्त निर्णयको कार्यान्वयन हुन सकेको छैन ।

सरकारी अधिकारी र केही जिप व्यवसायीका पदाधिकारीले भाडा दररेट कायम भइसकेको बताउने गरेको भएता पनि अझै ग्रामीण भेगसहित जिल्लाका मुख्य सडकमा चल्ने जिपले उक्त सरकारी निर्णयको बेवास्ता गर्दै मनोमानी ढंगले भाडा असुल्ने गरेका छन् । प्रशासनले गरेको निर्णय जिप व्यवसायीले बेवास्ता गर्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा केही महिनाअघि मात्रै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाको बैठक बसी पक्की सडकमा बागथलादेखि चैनपुरसम्मको प्रतिकिलोमिटर ५ रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमटिर ८ रुपैयाँ तोके पनि जिप व्यवसायीले तोकेको भाडादरभन्दा दोब्बर असुल्ने गरेको यात्रुको गुनासो छ ।

एक यात्रुले मंगलबार आफू कामको सिलसिलामा सदरमुकाम चैनपुरबाट तमैल हुँदै खप्तड छान्ना गाउँपालिका जाँदा आफूबाट जिप व्यवसायीले दोब्बर भाडा असुलेकोे गुनासो गरे ।

सदरमुकाम चैनपुरको सिमखेतदेखि तमैलसम्म झन्डै १० किलोमिटर छ । जिल्ला प्रशासन कार्यालयले तोकेको भाडादरनुसार भाडा ५० रुपैयाँ भाडा हुन्छ । आफूले सोहीअनुसार भाडा तिर्न खोज्दा  जिप चालकले सय रुपैयाँ लिएको उनले बताए ।

यस्तै, खप्तड छान्ना गाउँपालिकाको पसलबगरसम्म तमैलबाट झन्डै ८÷९ किलोमिटर रहे पनि त्यहाँका जिपले १५० रुपैयाँ लिने गरेको यात्रुको गुनासो छ । प्रशाससनले तोकेको भाडादरनुसार पैसा दिन खोज्दा जिप चालकसँग विवाद भएको अर्का यात्रुले बताए । जिप चालकले उल्टै सबै जिपले यति नै भाडा लिने गरेको बताउने गरेका छन् भन्ने गरेको यात्रुको भनाइ छ ।

जिप व्यवसायी र जिल्लामा रहेका सबै सरोकारवाला बसेर उक्त भाडादर तोकेको भए पनि अहिलेसम्म कार्यान्वयन भने हुन नसकेको गुनासो स्थानीयले गरेका छन् । यस्तै तल्कोट रुपतोला, चैनपुर बागथला, तमैल खप्तड छान्ना, भाँडेबजार छविसपाथिभेरा, मोरीबगर दुर्गाथली, बागथला बुंगल सबै रुटमा चल्ने जिपले प्रशासनले तोकेभन्दा दोब्बर भाडा लिने गरेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले भने यस विषयमा कसैले पनि अहिलेसम्म उजुरी नगरेको बताए । आफ्नो जानकारीमा आएसम्म कारबाही गर्ने गरेको बताए ।

यसका लागि केबल प्रहरी मात्रै लागेर सम्भव नहुने विशेष गरेर यात्रुले नै पहल चाले भाडादर कार्यान्वयन गर्न सजिलो हुने उनको भनाइ छ । आफूले अहिले सबै इलाका प्रहरी कार्यालयलाई यस विषयमा जानकारी गराइसकेको उनले बताए । यो समाचार डिबि बिष्टले आजको राजधानी डेलीमा लेखेका छन ।