किशोरी विद्यालय बाहिरै

किशोरी विद्यालय बाहिरै

अछाम । अछामको मंगलसेन नगरपालिका–१ जैधन गाउँ शिक्षा, स्वास्थ्य र भौतिक विकासबाट मात्रै पछि परेको छैन, मानवीय पक्षका अन्य विकासबाट समेत पछाडि छ । यहाँका १५ घर गैरदलित र ३५ घर दलित समुदायका छन् ।

सानै उमेरमा भारतका विभिन्न सहरमा कामको खोजीमा जानु र घरकै काममा सीमित हुनु यहाँका बालिकाको बाध्यता हो । सदरमुकाम क्षेत्रकै बासिन्दा भए पनि यहाँका किशोरीहरू अहिलेसम्म विद्यालय जानबाट वञ्चित छन् । जैधन गाउँबाट २ घण्टा पैदल हिँडेपछि मात्रै सुवाखाँदमा रहेको विद्यालयमा पुग्न सकिन्छ ।

गाउँमा विद्यालय नभएको र पढाउनुपर्छ भनेर अभिभावकले चासो नदिएका कारण आफू पढ्न पाउनबाट वञ्चित भएको मंगलसेन नगरपालिका १ जैधनकी १४ वर्षीया कमला जैगडी बताउँछिन् । ‘गैरदलितले केही छोरी मान्छेलाई स्कुलमा भर्ना गरेका छन् । तर हाम्रो दलित परिवारका धेरै छोरीलाई अहिलेसम्म नाम लेख्न पनि आउँदैन,’ कमलाले भनिन्, ‘स्कुल गएर पढ्न, सिक्न रहर त छ । अक्षर चिन्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । तर सिकाइ दिने कोही छैन ।’

कामको खोजीमा बुबाआमा भारतमा जाने र घरमा भाइबहिनीको रेखदेख, खेतीपाती र गाईबस्तुको काम गर्नुपर्ने बाध्यता भएकाले विद्यालय पढ्न नपाएकी जैधनकी १६ वर्षीया अर्की किशोरी रेखा जैगडीले बताइन् । ‘गाउँमा छोरीलाई पढाउनुपर्छ भन्ने नै छैन । कसैले नपढाएपछि धेरै जना पढ्नबाट वञ्चित भयौं,’ उनले भनिन्, ‘बिहान उठ्नेबित्तिकै घाँस, दाउरा मेलापातमा जाने फर्केर घर आएपछि दिउँसो गोठालो जाने, साँझ पनि घरकै काम गर्नुपर्छ ।’

जैधन गाउँमा भएका दलित मात्रै नभएर गैरदलितका छोरीहरू पनि विद्यालय जान नपाएको रेखाले भनिन् । ‘यहाँ के दलित के गैरदलित सबैको अवस्था उस्तै हो । कसैले छोरीलाई पढाउनुपर्छ भन्न पनि आएका छैनन्,’ उनले भनिन्, ‘छोरालाई विद्यालय भर्नासम्म गर्छन् । तर उनीहरू पनि नियमित विद्यालय जाँदैनन् । मंसिर, पुस र माघमा तीन महिना मात्रै पढ्न जान्छन् ।’

नगरकै वडा भए तापनि अहिलेसम्म विद्यालय नभएको, बिजुली नपुगेको, खानेपानीको समस्या भएको र चेतनाको कमी भएको टोलको रूपमा आफ्नो गाउँ रहेको जैधनका ५५ वर्षीय बालुराम जैगडीले बताए । उनका अनुसार जैधन गाउँका विद्यालय जाने उमेर समूहका ३० जनाभन्दा बढी किशोरीले अहिलेसम्म अक्षर चिन्न पाएका छैनन् ।

छोराहरूलाई जसोतसो स्कुलमा भर्ना गरे पनि छोरीलाई पढाउन नसकेको जैधनकी ५६ वर्षीया रुप्सी जैगडी बताउँछिन् । छोरीहरूलाई पढाउन नसकेपछि चिन्तित बनेकी जैधनकै दिलु नाथ आर्थिक अवस्था कम्जोर हुनु नै छोरीले पढ्न नपाउने मुख्य कारण भएको बताउँछिन् । ‘छोरी पढाउनका लागि आर्थिक अवस्था कमजोर छ । स्कुल पनि टाढै छ । गाउँमा कसैले पनि छोरी पढाउनुपर्छ भन्दैनन्,’ उनले भनिन्, ‘बिहे गरेर जाने त हुन्, छोरीका लागि किन खर्च गर्नु भन्छन् ।’

विद्यालय बाहिर रहेका किशोरीहरूलाई विद्यालय भर्ना अभियानकै बेलामा जोड दिइने मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए । - कान्तिपुर