चीनको सान्सी प्रान्तमा फहरायो नेपालको झण्डा

चीनको सान्सी प्रान्तमा फहरायो नेपालको झण्डा

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वगतका लागि चीनको सान्सी प्रान्तमा नेपालको झण्डा राखिएको छ । सान्सी प्रान्त सरकारले होटेल ‘लिजेन्ड पिपल्स ग्रान्ड’को छतमा नेपाली राष्ट्रपति निवासजस्तै देख्ने गरी नेपालको झण्डा फहराएर राष्ट्रपति भण्डारीको स्वगत गरेकाे हाे ।

राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको केन्द्र सियान पुग्नुभएको थियो। फ्रान्सेली कम्पनी सोफिटेल लिजेन्डसँग व्यापारिक साझेदारीमा परिणत यस होटेलको नाम हाल सोफिटेल लिजेन्ड पिपल्स ग्रान्ड होटेल रहेको छ । त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको रुपमा रहेको थियो ।

राष्ट्रपति भण्डारीसँग आज सान्सीका गभर्नर लिउ गोजङले भेटवार्ता गर्नेछन् । त्यसपछि राष्ट्रपति भण्डारी बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम छ । बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन राजकीय भ्रमणमा रहुनभएकी राष्ट्रपति भण्डारीले शुक्रबार फोरमलाई सम्बोधन गर्नुहुनेछ ।

यस्तै, शनिबार चिनियाँ राष्ट्रपति सी जिन पिङले ३७ देशका राष्ट्र तथा सरकार प्रमुखबीच राउन्ड टेबल बैठक गर्दैछन् । त्यसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, म्यानमारकी स्टेट काउन्सिलर आङसान सुकीलगायत चर्चित नेता पनि सहभागी हुँदैछन् ।