समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

एसियाली क्रिकेट काउन्सिल (एसीसी) यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र थाइल्याण्डबीच समूह चरणको अन्तिम खेल वर्षाले रद्द भएको छ ।

बिहीबार बिहान पहिले ब्याटिङ गर्दै नेपालले सात विकेटको क्षतिमा २३४ रन बनाएको थियो । २३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको थाइल्याण्डले एक ओभर पाँच बलको सामना गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । त्यतिन्जेलसम्म उसले एक विकेट गुमाइसकेको थियो भने रनको खाता खोल्न सकेको थिएन ।

नेपालका लागि आशिष भट्टराईले अद्र्धशतकीय पारी खेल्दै ५८ रन बनाएका थिए । त्यस्तै दीपक बोहराले ३५, विशाल विक्रम केसीले ३८, विशालकुमार पटेलले २८ रन बनाए ।

अघिल्ला दुई खेल जितेको नेपाल तेस्रो खेल रद्द हुँदा पनि समूह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेल रद्द हुँदा दुवै टोलीलाई समान १–१ अंक बाँडिएको छ । नेपाल पाँच अंकसहित समूह विजेता बन्दा दुई खेलमा जित र एउटामा पराजय भोगेको मलेसिया समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले पहिलो खेलमा म्यानमारलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।