वैशाख २२ गतेदेखि धनगढी बिमान स्थल एक महिना सम्म बन्द हुने

वैशाख २२ गतेदेखि धनगढी बिमान स्थल एक महिना सम्म बन्द हुने

धनगढी : धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ । धावन मार्ग अति जिर्ण भईसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिना सम्मका लागि विमानस्थलमा उडान बन्द गरिने विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले बताउनुभयो ।

झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य हुने भएकाले एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

विमानस्थलमा बिहीबार बसेको बैठकले नेपाल नागरिक उड्णन प्राधिकरणको प्रधान कार्यालयलाई विमानस्थल बन्द हुने सूचना प्रकाशन गर्न आग्रह गर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको धावनमार्ग छ ।

१७ करोड ८८ लाखमा अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २–२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको जनाएको छ ।यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार गर्ने योजना छ । अहिले काठमाडौं–धनगढी रुटमा नेपाल एयरलाइन्स, बुद्ध एयरलाइन्स, श्री एयरलाइन्सले उडान गर्ने गरेका छन् ।

धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारको ठेक्का लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी काठमाडौँले पाएको छ । सामान्यतया विमानस्थलको कालोपत्रे ओभरलेयरको काम १० वर्षमा गर्नुपर्ने भएपनि धनगढी विमानस्थलमा भने झन्डै १४ वर्षपछि कालोपत्रे सुधारको काम गर्न लागिएको हो ।