प्रदेश सभाको हिउँदे अधिबेशन आजदेखि अन्त्य

प्रदेश सभाको हिउँदे अधिबेशन आजदेखि अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिबेशन बिहीबारदेखि अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मोहनराज मल्लले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिबेशन अन्त्य गर्नुभएको हो ।

बिहीबार प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिबेशन अन्त्य गरेको ब्यहोराको पत्र पढेर सुनाउनु भएको थियो ।

विधेयक अधिबेशनका रुपमा चिनिने हिउँदे अधिबेशन अन्त्य भएको जानकारी सहितको प्रदेश प्रमुखको पत्र सभामा पढेर सुनाएपटि सभामुख थापाले तेस्रो अधिबेशन (हिउँदे) का प्रमुख उपलब्धीबारे जानकारी दिनुभयो ।

तेस्रो अधिबेशनबाट सात वटा विधेयक पपारित भएक छन् । भने प्रदेश सभा सञ्चालन नियमावली २०७४ को पहिलो संशोधन २०७५ पनि पारति भएको छ । तेस्रो अधिबेशनमा जम्मा २८ वटा बैठकहरु सम्पन्न भएका छन् ।

ती बैठकहरुबाट सहकारी सम्बन्धी विधेयक, वातावरण संरक्षण सम्बन्धी विधेयक, प्रदेश लोकमार्ग विधेयक, सुदूरपश्चिम प्रदेशमा सुशासनको प्रत्याभूति दिने सम्बन्धी विधेयक, प्रदेश सभाको सचिव र सचिवालय ब्यवस्थापन सम्बन्धी विधेयक र प्रदेश जोखिम न्यूनीकरण तथा ब्यवस्थापन विधेयक २०७६ पारित भएका छन् ।

मन्त्रीपरिषदले पेश गरेको स्वरोजगार कोष सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि २०७५ विषयगत समितिमा छलफल भइरहेको छ भने औद्योगिक विकास सम्बन्धी विधेयक सचिवालयमा दर्ता भएको छ ।

तेस्रो अधिबेशनका महत्वपूर्ण उपलब्धीबारे जानकारी दिँदै सभामुख थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गरेको सम्बोधन तेस्रो अधिबेशनको महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो ।

तेस्रो अधिबेशनमा प्रदेश भित्र भएका बिभिन्न घटनाक्रममा सरकारको ध्यानाकर्षण गराउन सांसदहरुलाई ११ पटक बिशेष समय र ४ पटक शुन्य समयको ब्यवस्था मिलाइएको थियो ।

प्रदेश सभाको हिउँदे अधिबेशन समाप्तिको अवसरमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद कृष्ण बहादुर चौधरीले पहिलो बर्ष सिकाईको बर्ष रहेकोले अब सरकारले दु्रत गतिमा काम गर्नुपर्ने बताउनुभयो । थारु भाषामा बोल्नुभएका सांसद चौधरीले आगामी आर्थिक बर्षको बजेट बनाउँदा सबै क्षेत्रलाई बराबरी न्याय हुनुपर्ने बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद कर्ण बहादुर मल्लले आफुहरुले शुरुवातमा सरकार गलत बाटोमा गइरहेको भनेर इङ्गित गरेका बिषय हाल सत्तापक्षका सांसदहरुले पनि उठाइरहेकोले सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

सत्तापक्ष नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले जनतालाई राहत दिने गरी केही विधेयकहरु पारित भएको र केही बिस्तृत छलफल आवश्यक भएका कारण छलफलकै क्रममा रहेको बताउनुभयो । उहाँले आफुहरु तेस्रो अधिबेशनमा पुग्दा सदन अझ ब्यवस्थित तरिकाले चलेको आभास भएको बताउनुभयो । जनताले सरकारले चाँडो काम गरोस भन्ने चाहना राख्नु स्वाभाविक भएको उहाँको भनाई छ ।

सरकारका तर्फबाट बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले विधेयक बनाउने कुरामा, प्रदेशको नामाकरण गर्ने प्रदेश सभाका बिषयगत समितिमा नेतृत्व चयन गर्ने बिषयमा अन्य प्रदेश भन्दा सुदूरपश्चिम प्रदेश अगाडि रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिबेशनबाट महत्वपूर्ण विधेयकहरु पारित भएको उहाँले बताउनुभयो ।

हिउँदे अधिबेशन अन्त्य भएपछि प्रदेश सभा बजेट अधिबेशनको तयारीमा जुट्ने छ । संसदीय समितिहरुका नियमित बैठकहरु बाहेक प्रदेश सभाले बजेट अधिबेशनको तयारीका लागि काम शुरु गर्ने प्रदेश सभामा निमित्त सचिव तेजप्रकाश जोशीले बताउनुभयो ।