हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

हेटौँडा । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६९४३ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको र घटनाबारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।