बैतडीका चार क्याम्पसमा तयारी पूरा

बैतडीका चार क्याम्पसमा तयारी पूरा

बैतडी  । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बैतडीका चारओटा क्याम्पसमा भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी पूरा भएको छ । बिहान ८ बजेदेखि मतदान कार्यक्रम सञ्चालन गर्ने गरेर तयारी पूरा भएको क्याम्पसहरुले जनाएका छन् । 

जिल्लाका दुईओटा क्याम्पसमा भने विवाद देखिएको छ । सिगास शिक्षा क्याम्पस गाँजरी र बैतडी शिक्षा क्याम्पस शाहीलेकमा स्ववियु निर्वाचनका बिषयमा विवाद देखिएको हो । निर्वाचन समितिले निर्देशिका विपरीत काम गरेको भन्दै बैतडी शिक्षा क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको छ । अहिले निर्वाचनका बिषयमा अनेरास्ववियु र नेविसंघका प्रतिनिधिहरु बसेर छलफल गरिरहेका निर्वाचन समिति संयोजक रामचन्द्र ओझाले बताए । 

यस्तै सिगास शिक्षा क्याम्पसमा नेविसंघको मात्रै मनोनयन परेको भन्दै नेविसंघले निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको भएपनि सिगास शिक्षा क्याम्पसले स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरेको छ । अनेरास्ववियुले पत्र दिएपछि सिगास शिक्षा क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको हो । 

जिल्लाको पुर्चौंडी नगरपालिकास्थित पुर्चौंडी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको तयारी पूरा भएको छ । यहाँ ४९७ जना विद्यार्थी मतदाता रहेका छन् । यस्तै डिलाशैनी ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा पनि निर्वाचनको तयारी पूरा भएको निर्वाचन समिति संयोजक राजेन्द्रप्रसाद जोशीले बताए । सो क्याम्पसमा ३०२ जना विद्यार्थी मतदाता रहेका छन् । 

यस्तै कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसमा पनि स्ववियु चुनावको तयारी पूरा भएको निर्वाचन समिति संयोजक षष्ठीबल्लभ तिवारीले बताए । सो क्याम्पसमा १९९ जना विद्यार्थी मतदाता रहेका छन् । 

जिल्लाको श्रीकोट बहुमुखी क्याम्पसमा २११ जना मतदाता विद्यार्थी रहेका र तयारी पूरा भएको निर्वाचन समिति संयोजक धनबहादुर खातीले बताए ।