कैलालीमा व्यावसायिक कालिज पालन

कैलालीमा व्यावसायिक कालिज पालन

धनगढी ।  विकास न्यौपानेले कालिज पाल्न थालेको ४ वर्ष भयो । कैलालीको चुरे गाउँपालिकाको निंगलाडीमा उनले ३० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रूपमा काजिल पालन सुरु गरेका हुन् ।

दुई सय चल्लाबाट व्यवसाय सुरु गरेका उनीसँग अहिले ३ हजार बढी कालिज छन् । सुरुमा ३० लाख लगानी गरेका न्यौपानेले अहिले लगानी बढाएर ७० लाख पुगाएका छन् । सुरुसुरुमा धनगढी, महेन्द्रनगर र चिसापानीसम्म बिक्री हुने कालिज ४ बर्ष नबित्दै भारतका विभिन्न सीमावर्ती बजारमा पुग्न थालेको छ ।

मागअनुसार न्यौपानेले आपूर्ति गर्न सकेका छैनन् । ‘भारतको केरलाबाट समेत अर्डर आएको छ,’ न्यौपानेले भने, ‘पछिल्लो समय मागअनुसार आपूर्ति गर्न सकिएको छैन ।’ खर्च कटाएर न्यौपानेले महिनामा डेढ लाखदेखि २ लाखसम्म कमाउने गरेका छन ।

गोदावरीका हरि भट्टराईले सीमावर्ती भारतीय बजारमा कालिजको बजार अध्ययन गरेका छन् । लखनउ र दिल्लीसम्म पनि उनले कालिजको बजार विस्तार गर्ने तयारीमा छन् । उनले पनि ४ वर्षअघि कैलालीको बुढीतोलामै कालिज फार्म सञ्चालन गरेका थिए । आफ्नै ६ रोपनी जग्गामा सुरुमा १५ लाख लगानी गरेर उनले काजिल पालन सुरु गरेका हुन् । अहिले उनको लगानी पनि बढेको छ, व्यवसाय पनि बढेको छ । ‘सीमापारि नजिकका भारतीय बजारमा कालिज निर्यात हुन थालेको पहिलेदेखि नै हो,’ उनले भने ‘होटेलहरूमा निर्यात गर्ने प्रयास गरिरहेको छु ।’

स्टार होटलदेखि साधारण रेस्टुरेन्टसम्म कालिज जाने गरेको भट्टराई बताउँछन् । ‘जसरी भारतबाट कुखुरा आयात हुन्छ, त्यसरी नै भारतीय बजारमा कालिज निर्यात गर्ने प्रयास भइरहेको छ,’ उनले भने । १ करोड लगानीमा खुलेको ग्लोबल वाइल्ड फार्मिङ एग्रो फोरेस्ट्री प्रालिले पनि ३ वर्षदेखि २५ रोपनी जग्गा भाडामा लिएर कालिज पालन गरिरहेको छ । यस क्षेत्रमा खुलेको यो सबैभन्दा वढी लगानीको कालिज फार्म हो । योबाहेक चुरेको निंगलाडी र बुढीतोलामा अरू ३ वटा कालिज फार्म छन् ।

सेनाका पूर्वजर्नेल प्रेम शाहीदेखि प्रदेशका पूर्वअर्थमन्त्री झपट बोहरासम्मले कालिज पालन व्यवसाय गरिरहेका छन् । तराई नजिकको चिसो ठाउँ, राजमार्ग नजिक र जंगल क्षेत्र नजिक भएका कारण कैलालीको चुरे क्षेत्रमा अहिले कालिज पालन व्यवसाय फस्टाउन थालेको छ ।

१८ देखि २२ डिग्री तापक्रममा हुर्कन सक्ने कालिज पाल्नका लागि कैलालीको चुरे क्षेत्र उपयुक्त मानिन्छ । कैलालीको अत्तरीयादेखि ३० किलोमिटरमाथि चुरेमा रहेका सबै जंगलमा कालिज पाइन्छन् । कालिज फार्मको चारैतिर तारजाली राखेर खुला ठाउँमा चर्ने गरेका कालिजको संख्याअनुसार क्षेत्रफल पनि हुनुपर्ने व्यवसायी हरि भट्टराई बताउँछन् ।

उनले भने, ‘एउटा कालिजले दैनिक १ अण्डा पार्छ, दैनिक एक सय कालिजले सय अण्डा दिन्छन् जसलाई ह्याचरीमार्फत कोरल्ने गरिएको छ ।’ ६ महिनामा एउटा कालिज एक किलोसम्म पुग्ने उनले बताए । ‘कालिजको तौल डेढ किलोभन्दा बढी हुँदैन त्यसैले ६ महिनामै बिक्री गर्न थालिन्छ’ उनले भने । किलोका दरले भन्दा कालिज प्रतिगोटाका हिसाबले बिक्री हुने गरेको छ । प्रतिगोटा १५ सयदेखि २ हजारसम्ममा कालिज बिक्री हुने गरेको छ ।

ग्लोबल वाइल्ड फार्मिङका प्रबन्धक सुरेन्द्र खडायत नेपाल बाहिरबाट पनि माग आउन थालेपछि यो व्यवसायमा लगानी बढ्दै गएको बताउँछन् । व्यवस्थित तथ्यांक नभए पनि कैलालीबाट हरेक वर्ष लाखौं मूल्यमा कालिज बाहिर निर्यात हुन थालेको छ । भारतीय बजारमा कालिज लोकप्रिय बन्दै जान थालेपछि व्यवसायमा पनि वृद्धि हुन थालेको हो ।

गर्मी मौसममा भारतबाट आउने पर्यटकहरूका माध्यमबाट कालिजको माग भारतमा बढ्न थालेको पनि खडायतले बताए । ‘सुरु सुरुमा गर्मी मौसममा भारतका विभिन्न ठाउँबाट आउने पर्यटकले यसको स्वाद लिए,’ उनले भने, ‘अहिले संगठित रूपमै कालिजको माग आउन थालेको छ ।’

कालिजसँगै टर्की र लौकाटसमेत पालन गरिरहेका व्यवसायी विकास न्यौपाने कुखुरामा देखिने जस्ता रोग कालिजमा नदेखिने अनुभव सुनाउँछन् । न्यौपाने भन्छन्, ‘एक वर्षसम्म कालिज पाल्ने हो भने त्यो वनमा आफैं हुर्केको कालिजभन्दा राम्रो हुन्छ । अहिलेसम्म रोगव्याधिले कालिज मरेको छैन ।’

चल्लामा एउटा खोप दिएपछि अरू रोग लागेको नदेखिएको उनले बताए । ‘बजारको कुनै अभाव छैन’ उनले भने, ‘उपभोक्ताको भान्छादेखि ठुल्ठूला होटलसम्म सहज रूपमा कालिज पुगाउन सकिन्छ ।’ भारत निर्यात गर्न पनि अप्ठेरो नरहेको उनले वताए ।

सीमापारिबाट उपभोग्य वस्तु लिएर आउने साधनमै कालिज पठाउन सकिने उनको भनाइ छ । कानुनी रूपमा वन्यजन्तु ऐन २०२९ अनुसार कालिज, डाँफे, मुनाल यसरी पालन गर्न वन्देज छ । तर विदेशवाट आयात गरिएको रिंगनेक नामक कालिज पाल्न र सिकार गर्न पाइने भएकाले यस क्षेत्रमा कालिज पाल्ने लहर नै चलेको छ । व्यवस्थित रूपमा बाहेक घर घरमा कुखुरा पालेजस्तै कालिज पाल्ने कृषकको पनि संख्या हरेक दिन बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । -कान्तिपुर