डोटीमा नेविसंघद्वारा प्रशासन घेराउ

डोटीमा नेविसंघद्वारा प्रशासन घेराउ

डोटी । नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय डोटी घेराउ गरेको छ। डोटी बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचन स्थगित गरिएको विषयलाई लिएर प्रशासन घेराउ गरिएको हो ।

अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका बिद्यार्थी संगठनहरुले मतपेटिका तोडफोड गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरिएको विज्ञप्ति प्रकासन गरेको छ ।

फर्जीमत खसालेको भन्दै केही बिद्यार्थीहरुले मतदान केन्द्रको झ्याल ढोका तोडफोड गरेर मतपेटिका समेत तोडफोड गरेका हुन् । सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको अवस्थामा उच्छिर्खल तत्वहरू मतदान केन्द्रमा प्रवेश गरेर मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू तोडफोड गरेका कारण निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्क बहादुर कलेलले बताए ।

नेपाल विद्यार्थी संघले तत्काल मतदान प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखेको छ । नेविसंघ सँग परामर्श नै नगरेर एकलौटी रुपमा निर्वाचन स्थगित गरिएको छ,” नेविसंघ नगर सभापती राम कठायतले भने,” तत्काल मतदान सुचारु गरिएन भने हामी कडा आन्दोलनमा उत्रिने छौं ।”

नेपाल विद्यार्थी संघको जीत सुनिश्चित देखेपछि मतदान स्थलमा तोडफोड भएको नेविसंघको आरोप छ । सुरक्षाकर्मीले समेत निर्वाचन केन्द्रको सुरक्षामा लापरबाही गरेको विद्यार्थीहरूको आरोप छ । नेविसंघले मतदान केन्द्रको सुरक्षामा खटिएर लापरबाही गर्ने सुरक्षाकर्मीलाई समेत कारबाही गर्नु पार्ने माग राखेको छ ।