‘पढाई कुना’ अभिभावक र बालबालिकालाई शिक्षा दिँदै

‘पढाई कुना’ अभिभावक र बालबालिकालाई शिक्षा दिँदै

धनगढी । भित्तामा छोराछोरीलाई पढाउन बानी विकास गर्न अपनाउनुपर्ने व्यवहारिक चित्रसहितको पोष्टर छ । तल कापी, कलम राख्ने टेबल छ । छेउमा बस्ने व्यवस्था बनाइएको छ दृष्य हो कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ स्थित बाणीकी विष्णा रावलको घर ।
विष्णाकी छोरी रिद्धिमालाई नियमित पढाईतर्फ लगाब बढाउन विष्णाले सजावट गरेकी हुन् । घरको कोठाभित्र रिद्धिमा छिर्नेबित्तिकै त्यही गएर विद्यालयमा सिँकाएका कुरा कापीमा सार्छिन र किताव पढ्छिन् । उनलाई त्यहाँ पुग्ने वित्तिकै किताव पढ्नुपर्छ भन्ने ज्ञान दिने यो स्थानलाई भन्छिन –‘पढाई कुना ।’

आफु पढाई नगरेकी विष्णाले छोरीको शिक्षातर्फ ध्यान दिन सकेकी थिइनन् । कहिले विद्यालय नदेखेकी उनको प्रतिक्रिया हुन्थ्यो –‘पढ्न त सक्दैन छोरीलाई के भनेर पढाउने ?’
शहर बजारका भन्दा केही भित्र रहेको बिष्णाको घर सानो र लिपेर चिटिक्क पारिएको छ । झण्डै एक वर्षअघि उनले छोरीका लागि ‘पढाई कुना’ बनाएर आफु पनि शिक्षा लिन पाईरहेकी छिन् भने छोरीलाई पढ्ने बानीको विकास गराईरहेकी छिन् ।
‘हामीलाई पढाई कुनाका बारेमा थाहा थिएन । पहिले छोरी स्कुलबाट आएपछि झोला नै कता फालेर साथीभाईसंग खेल्न जान्थी’ उनी एक वर्षअघिका कुरा स्मरण गर्दै भन्छिन् –‘तर, अहिले आफ्ना सबै सामान पढाइ कुनामै राख्ने गर्छिन । हरेक क्रियकलाप आफ्नै पढाइ कुनामा गर्ने गर्छिन ।’ रिद्धिमा कक्षा २ मा पढ्दै आएकी छिन् । ‘पढाई कुना’ले रिद्धिमामात्र होइन् रावललाई पनि शिक्षा आर्जन गर्न सहज भएको छ ।
‘पहिले छोरीलाई भनेपछि मात्रै पढ्न मान्थि । अहिले भन्नु पर्दैन विद्यालयबाट आउनेवित्तिकै पढ्नतर्फ ध्यान दिइरहेकी छिन’ विष्ण भन्छिन् ।
बिष्णा जस्तै गीता डगौराले पनि छोरीका लागि ‘पढाई कुना’ बनाएकी छिन् । गिताकी जेठी छोरी कक्षा ५ र कान्छी २ कक्षामा अध्ययनरत छन् ।  ‘पहिले धेरै घुम्ने बच्चाहरु अहिले कम घुम्ने र बढी पढाइ कुनामा रमाउने गर्छन् । बिद्यालयको गृहकार्य सकिएपछि चित्र कोर्ने, पेन्टीङ गर्ने, पढ्ने लगायतका काम ‘पढाई कुना’मा गर्छन्’ गिता भन्छिन –‘हामीले धेरै पढेका पनि छैनौ । त्यहि पनि पढाइ कुना बनाएदेखि उनीहरुकै सामु बसेर सुन्ने र बुझ्ने गछौँ ।,’ 
गिताले छोराछोरी पहिले के गर्छन भन्ने त्यति चासो नलिने गरेको बताउँदै –‘तर आज भोलि आफू पनि हेर्ने गरेका छौं ।  पढ्न नआएपनि उनीहरुले पढेको कुरा सुनाउने र बनाएका चित्रहरु देखाउने गर्ने गरेका छन् ।’
कृष्णपुर २ बाणीकी सरस्वती धामीले पढाइ कुना बनाएपछि छोरा धेरै घुम्न नजाने र पढाई कुनामै बसेर पढ्ने गरेको सुनाइन् । ‘उनीहरुले पढाइमा बढी ध्यान दिने गरेका छन्, आफ्ना कोठामा चित्र बनाउने र चप्काउने गर्छन् । बिद्यालयमा पढेका कुरा घरमा आएर हामीलाई पनि सुनाउने गर्छन्,’ उनी भन्छन् ‘पढाई कुना कस्तो हुन्छ भन्ने लाग्थ्यो ? तर, यस्तो होला भन्ने सोचेका थिएनौं ।
‘पढाई कुना’ बालबालिकाले छुट्टै पढ्ने स्थान हो । जहाँ बालबालिका आफूले निर्माण गरेका सामाग्री, आफ्ना बिद्यालयका सामाग्री उनीहरुले आफूले निर्माण गरेका चित्रहरु भित्तामा टाँसेका देख्न सक्छौ । पढाइ कुना जहाँ पनि निर्माण गर्न सकिन्छ । उनीहरुले सुत्ने कोठाको एउटा छेउमा बेड राखेर वरीपरी उनीहरुले बनाएका चित्रहरु टाँसेर ‘पढाइ कुना’लाई आर्कषक बनाउन सकिन्छ । सुन्दा सामान्य लाग्ने अभ्यासले बालबालिकाको पढाईमा त सुधार आउँछ नै उनीहरुले अनुशासन र जिम्मेवारी पनि सिक्ने गर्छन । 
कक्षा १ देखि कक्षा ३ सम्मका बालबालिकाको राम्रो सिकाइका लागि र पठन सिप विकासका लागि अहिले वल्र्ड भिजन ईन्टरनेशनल नेपाल अन्तर्गत बालबालिकाको पढाई सुधारका लागि समुदाय र सामाजिक परिवर्तन परियोजना कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको १५ वटा विद्यालय अन्तर्गतका समुदायहरुमा सञ्चालन भइरहेका छन् । 

२०७८ फागुनको पहिलो साताबाट श्री शिद्धनाथ बालटरी आधारभूत बिद्यालयमा पनि सामाजिक परिवर्तन परियोजना सुरु भयो । वल्र्ड भिजनको सहयोगमा सुरु भएको यस शिबिरमा अहिले करिव ७५ जना बिद्यार्थी छन् ।  
एक देखि तीन कक्षा सम्मका बालबालिका यस कक्षामा सहभागि हुन्छन् । उनीहरुले शनिबारका दिन शिबिरमा पढ्छन् । उनीहरुले शनिबारको दिन करिव २ घण्टा सम्म पढ्ने गरेको सहजकर्ता मनिषा थापाले बताइन् । 
उज्जल भविष्य शिबिरमा बालबालिकालाई कबिता, गीत र  चित्रबाट पढाइने गरिन्छ जसले गर्दा उनीहरु पनि यस कक्षाम सहभागि हुन पाउँदा निकै खुशी हुन्छन् । 

सहजकर्ता मनिषा थापाले अहिले उक्त शिबिरमा तीन जना सहजकर्ताले पढाइ रहेको बताइन  । एक जनाले २० देखि २५ जनालाई पढाउने  गर्दछौँ । पुजा सुनार र लक्ष्मी खातीले पनि यस शिबिरमा पढाउँछन् । 
पहिले उनीहरु केही थाहा पाउदैनन् थिए तर यस शिबिरमा आएपछि उनीहरुमा धेरै परिवर्तन आएको सहजकर्ता मनिषाले बताइन् । बालबालिकाका अभिभावकलाई पनि राखेर छलफल गरेपछि उनीहरुका लागि पढाई कुना निमार्ण गर्न लगाएपछि अहिले सबै अभिभावकलले यस्तो गरेको उनले बताइन् । ‘सबैको भित्र गएर त हेरेका छैनौ । तर, केहीका घरमा गएर हेरेका थियौँ’ उनले भनिन ‘उहाँहरुले आफ्ना नानी बाबुका लागि पढाई कुना बनाएका छन् । पढाइ कुनामा उनीहरुले शिबिरमा बनाएका चित्रहरु भित्तामा.टास्ने र  आफ्ना सामान मिलाएर राख्ने गर्दछन् ।’  उनीहरुलाई कपि, पेनसिल, कलर लगायत शैक्षिक सामाग्री विद्यालयबाटै उपलब्ध गराइने गरेको हुँदा अझै सहज भएको छ । 
‘पढाई कुना’ जस्तो राम्रो अभ्यास अरु क्षेत्रमा पनि हुन जरुरी देखिने अभिभावक बताउँछन् ।

वल्र्डभिजन ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकार, कृष्णपुर नगरपालिकाको समन्वयनमा यो कार्यक्रम सञ्चालनमा छ । 
नानीबाबुहरुलाई विद्यालय पठाउन अभिप्रेरित गर्ने नाटक, नानी बाबुहरुसंग गर्नुपर्ने व्यवहार, उनीहरु पठन सीप, सिकाईका बिधि र दैनिक जीवनमा प्रयोग हुने सामग्रीको उपयोग, तिनको नाम र प्रयोग गर्ने बिधिका विषयमा यहाँ पढाइ हुने गर्दछ ।