मन्त्री र उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलायो बैठक

मन्त्री र उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलायो बैठक

काठमाडौँ । सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको अनुसार बैठक मंगलबार  बिहान ९ बजेका लागि बोलाइएको हो। 

कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्य सहभागी हुने छन्।

बैठकले सरकारमा सहभागी हुने मन्त्री र उपनिर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ। 

यसअघि शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास (धुम्बाराही) मा बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने सैद्धान्तिक सहमति भएको छ।