रवि लामिछानेविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै

रवि लामिछानेविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा चल्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ। सोमबार दायर भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले मंगलबारलाई पेसी तोकेको छ।  

लामिछानेले राहदानी दुरुपयोग गरेको भनेर परेको उजुरीका सन्दर्भमा मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका हुन्। आइतबार दायर गरिएको रिट सर्वोच्चले अध्ययनपछि सोमबार दर्ता गरेको हो। रिटको पेसी मंगलबारलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।

लामिछानेले अमेरिका र नेपालको दोहोरो राहदानी एकसाथ प्रयोग गरी राहदानी दुरुपयोग गरेको भन्दै अधिवक्ता पौडेलले नै गृह मन्त्रालयमा उजुरी दिएका थिए। उक्त उजुरी पछि जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै प्रहरी परिसर काठमाडौं पुगेको थियो। सोही उजुरीका आधारमा प्रहरीले लामिछानेविरुद्ध राहदानी दुरुपयोगको प्रकरणमा अनुसन्धान गरेको थियो।