खुम्बुमा अस्ट्रेलियाली नागरिकको मृत्यु

खुम्बुमा अस्ट्रेलियाली नागरिकको मृत्यु

काठमाडौँ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको ज्यान गएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ रात्माटेमा ६३ वर्षीय अस्ट्रेलियाली नागरिक भ्यालेन्स फिलिप्स थोमसको निधन भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्ण दाहालका अनुसार आइतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट सङ्खुवासभा जाने कार्यतालिका थियो ।

हिँड्दै गर्दा एक्कासि उकालो बाटोमा ढलेका उनको उपचारको क्रममा निधन भएको दाहालले बताए । थोमससहित तीन अस्ट्रेलियाली नागरिक नेपाली पथप्रदर्शक योग्यबहादुर कार्कीको नेतृत्वमा लुक्लाबाट मेरा पिकहुँदै सङ्खुवासभाको तुम्लिङटारतर्फ अघि बढेका थिए ।

उनको शव आज  हेलिकप्टरमार्फत पोष्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ ।