किन थोरै छन् आईटीमा मास्टर्स पढ्ने विद्यार्थी ?

किन थोरै छन् आईटीमा मास्टर्स पढ्ने विद्यार्थी ?

काठमाडौं । स्नातकोत्तर तह (मास्टर्स डिग्री)ले कुनै पनि विषयमा सक्षम बनाउने र विज्ञता प्रदान गर्ने काम गर्छ । यो शिक्षण, अनुसन्धानलाई सहयोग गर्ने तह हो । रोजगारी र अन्य कुराका लागि स्नातक भए पुग्छ ।

हुन पनि स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरु प्रायः 'जबहोल्डरु छन् । आफूलाई अपग्रेड गर्न, पदोन्नति गर्न स्नातकोत्तर​ तह पढ्ने विद्यार्थीहरु बढी छन् । यति मात्रै होइन, विद्यार्थीलाई विज्ञ बनाउने तह पनि हो यो ।

तर स्नातक तहको तुलनामा स्नातकोत्तर गर्ने विद्यार्थीहरू निकै कम छन् । विश्वविद्यालय अनुदान आयोगको ‘रिपोर्ट अन हाइयर एजुकेसन २०२०/२१’  अनुसार सो शैक्षिक वर्षमा चार लाख १० हजार ९५४ विद्यार्थी स्नातकमा भर्ना भए भने ४७ हजार १६८ विद्यार्थी मात्र स्नातकोत्तरमा भर्ना भएका थिए । 

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन प्राध्यापक राजेशकुमार ठगुराथी धेरै विद्यार्थी स्नातकपछि काम गर्दै अध्ययन गर्ने भएकाले स्नातकोत्तर तहमा भर्ना दर कम भएको धारणा राख्छन् । तुलनात्मक हिसाबले नेपालमा स्नातकभन्दा स्नातकोत्तर तहमा कोटा कम छ । तर, यस कुराले जनशक्ति उत्पादनमा कुनै असर नगरेको डीन ठगुराथी बताउँछन् ।

“स्नातकोत्तर तहका हरेक विषयमा कोटा खाली हुँदैनन्,” उनी भन्छन्, “हाम्रो विश्वविद्यालयमा स्नातकोत्तर तहका आईटी विषयहरूमा कोटा अनुसार नै विद्यार्थी भर्ना हुने गरेका छन् । यसमा शैक्षिक कार्यक्रम कस्तो छ भन्ने कुराले पनि फरक पार्छ ।” 

विश्वविद्यालयको भौतिक र जनशक्ति क्षमताका कारण तुलनात्मक हिसाबले स्नातकोत्तर तहमा कोटा कम हुने काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक विष्ट बताउँछन् । साथै गुणस्तर नियन्त्रणका लागि पनि कोटा सीमित हुने उनी सुनाउँछन् । धेरै विद्यार्थी भए भने स्तरीय थेसिस गर्न नसकिने उनको बुझाइ छ ।

“थेसिसका लागि विशेष पर्यवेक्षक संलग्न हुनुहुन्छ । विद्यार्थीलाई उहाँले पर्याप्त समय दिनुपर्छ,” उनी थप्छन्, “उहाँहरूले सुपरभाइजिङ बाहेक अन्य काम पनि गर्नुपर्छ । यसरी विद्यार्थी र पर्यवेक्षकले पर्याप्त समय दिन सक्नुभएन भने स्तरीय थेसिस प्राप्त हुँदैन ।”

स्नातकपछि स्नातकोत्तर तहमा अध्ययन गर्न आर्थिक अवस्था, रुचि, समय जस्ता कुराले प्रभाव पार्ने गर्छन् । तर, स्नातकपछि आईटी क्षेत्रमा केही समय काम गरेर स्नातकोत्तर तहमा भर्ना हुँदा पढाइमा समेत फाइदा पुग्ने सरोकारवाला बताउँछन् । 

आखिर मास्टर्समा किन थोरै विद्यार्थी ?

स्नातक तहका लागि नेपालमा सयौं कलेज र दुई दर्जन बढी आईटी कोर्ष उपलब्ध छन् । तर स्नातकोत्तर तहमा भने विद्यार्थी संख्या निकै कम छ । विश्वविद्यालयले पनि थोरै शैक्षिक कार्यक्रम सञ्चालन गर्छन् । यसो हुनुका पछाडि धेरै कुराको कारण हुनसक्छ । कतिपय विद्यार्थी १६ वर्षभन्दा बढी लगातार पढ्दा ब्रेक लिन चाहन्छन् ।

उद्योगले पनि स्नातक उत्तीर्णलाई लिने गरेकाले उद्योगमा गएर काम गर्नका लागि मास्टर्स पढ्नैपर्छ भन्ने जरुरी छैन । कतिपयले केही समय उद्योगमा काम गरेको अनुभव सँगाली मास्टर्स पढ्न खोज्छन् । त्यस्तै स्नातकपछि विदेश एप्लाई गर्न चाहन्छन् । टोफेल, जीआरई, आयल्ट्स जस्ता कोर्षहरुमा समय दिन्छन् ।

यसर्थ अन्य संकायमा जस्तो तुरुन्त मास्टर्स पढ्ने अवस्था यो विषयमा छैन । अर्कोतर्फ नेपालमा मास्टर्सका लागि उपयुक्त पाठ्यक्रमको अभाव, रिसर्चमा लगानीको कमी, फ्याकल्टी मेम्बरहरुको गुणस्तर आदिका कारण धेरै विद्यार्थीले स्वदेशमा आईटीमा मास्टर्स अध्ययन गर्न नचाहेको विश्लेषण गर्न सकिन्छ ।

यद्यपि केही विश्वविद्यालयले स्नातकोत्तर तहका लागि नै लक्षित गर्दै स्पेसिफिक आईटी कोर्ष ल्याउन थालेका छन् । तर यस्ता कोर्षमा विद्यार्थीको रुचि कम छ भने विश्वविद्यालयले पनि थोरै सिटमात्र उपलब्ध गराइएको छ । 

आईटीको स्नातकोत्तर तहमा विद्यार्थी संख्या कम हुँदा नेपालमा पर्याप्त रुपमा अनुसन्धानकर्ता पनि बढ्न सकेका छैनन् । शैक्षिक तथा अनुसन्धान संस्थामा जनशक्तिको अभाव हुँदा यहाँको बजारको मूल्याकंन, माग र भविष्यबारे यकिन अध्ययन हुन सकिरहेको छैन । साथै विद्यार्थीलाई अनुसन्धानमुखी शिक्षा प्रदान पनि समस्या हुने गरेको छ । 

यता विश्वविद्यालयका अधिकारीहरु नेपालमै अन्तर्रााष्टियस्तरको स्ट्यान्डर्ड कोर्ष बनाएको दाबी गरेपनि विद्यार्थीलाई बाहिरकै डिग्री लिने इच्छा बढी हुनाले पलायन दर पनि बढ्दो छ । ज्ञान र सिप सिक्न विदेश जानुलाई राम्रै मान्नुपर्ने भएपनि उतै पलायन हुँदा देशले भने घाटा व्यहोरिरहेको छ । टेकपाना